लडाकुको भरणपोषणमा घोटाला भएको छ ः अख्तियार
कपन अनलाइन ,काठमाडौँ, १ असोज।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ ।
आयोगले आज साँझ गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यतिखेर निर्णय प्रक्रियामा सहभागी हुनुभएका महत्वपूर्ण पदाधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याएका छौँ । ३० दिनभित्र उहाँहरुलाई जवाफका लागि आमन्त्रण गरेका छाँै, जवाफ आएपछि निष्कर्षमा पुग्छौं ।
अनियमितताको सम्बन्धमा यसबीचमा समेत बुझ्ने काम भएको तथा आयोगसँग महत्वपूर्ण कागजात रहेको उहाँको भनाइ छ ।
पत्रकारले ति आरोपी पदाधिकारी को हुन भनेर सोधेको प्रश्नमा प्रवक्ता कार्कीले भन्नुभयो–तपाईहरुले बुझ्नुभएकै छ, बुझ्नुहोस न ।
राज्यको जुनसुकै पदमा भएपनि उनीहरु दोषी ठहरिए उन्मुक्ति नदिईने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो– लडाकु संख्या र निकासा भएको रकममा तालमेल मिलेको छैन, ठुलो परिणाममा आर्थिक घोटाला भएको छ । प्रारम्भिक अनुसन्धानले यो गम्भीर प्रकारको छ भन्ने देखाउँछ ।यसैगरी आयोगले नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अल्पकालिन, दिर्घकालिन निर्णय प्रक्रियामा सहभागी हुने, राज्यलाई असर पार्न सक्ने निर्णय गर्नेहरुलाई समेत अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । रासस