भूमिका र जिम्मेवारीमा राजु श्रेष्ठ

भूमिका र जिम्मेवारीमा राजु श्रेष्ठ

कपन अनलाइन, १ असोज, २०७३/दृष्टिकोण

-केशव पाठक

नेपाली कांग्रेस भन्ने पार्टी आफैमा गुटग्रस्त र गुट फैलाउन सक्ने पार्टी मान्छु म । नेपाली कांग्रेस आफ्नो स्थापनाको सुरुवाती दिनदेखि नै गुटको प्रभावमा आएकाले कतिपय हाशिल गर्न पर्ने कुराहरु प्राप्त गर्न नसकेको पार्टी भनिन्छ । शुरुमा कोइराला बन्धुहरु मातृका र वि.पी. बीचको द्वन्द्वबाट शुरु भएको इतिहास आजको दिनसम्म आइसक्दा अनगिन्ति गुटहरुको महासंघ भएको छ नेपाली कांग्रेस । गुटकै राजनीतिका कारण गणेशमान सिँह, कृष्णप्रसाद भट्टराईसम्मका नेता आफ्नो जीवनको उत्तरार्धमा पार्टीबाट टाढिए र स्वतन्त्र मृत्यूवरण गरे । हाल नेकाभित्र सतहमा देखिने देउवा, पौडेल र सिटौला गुट सारमा १० भन्दा बढि अरु व्यक्तिहरुको गुटमा अन्तर्निहित छ ।

नेपाली कांग्रेसमा कांग्रेस भएर बाँच्न सजिलो छैन पनि भनिन्छ। कसैले बाँच्ने सोच्यो भने उ क्रियाशील सदस्य मात्र बन्न पुग्छ वा त्यस्तै पर्यो भने त्यही क्रियाशील पनि गुमाउन बेर छैन । गुटको फेरो समात्यो भने हिजोको चल्ला आजै भाले बन्न बेर लाग्दैन । अनगिन्ति उदाहरण छन् यस्ता । तथापि नेपाली कांग्रेसको स्वरुप नै यस्तै भएकाले यो पार्टी चलेको छ आरामले आजका दिनसम्म । सुशील कोइरालाको निधनपश्चात भने पार्टी अभिभावक विहीन भएको सबैले महशुस गर्न सक्छन् । देउवा, पौडेल, सिटौला सबै एकै बयका हुनाले एकले अर्कालाई अभिभावक भन्न सक्दैन । नेतृत्व गरेर मन जित्न स्वभाव, गुण र व्यक्तित्व अहिलेसम्म कसैले देखाउन सकेको जस्तो देखिदैन । हेरुँ आगामी दिनमा के कसो होला ।

काठमाडौं क्षेत्र नं. ४ नेपालको सबैभन्दा चर्चित क्षेत्र हो । राष्ट्रपति, उपराष्ट्रपति, नेका सभापतिलगायत ठूलाठूला व्यक्ति तथा नेताहरुको बसोबास गर्ने यो क्षेत्र युवा नेता गगन थापाको क्षेत्र भएकाले पनि चर्चाको पहिलो पृष्ठमा पर्दछ । विशेष गरेर हाल स्वास्थ्य मन्त्री रहेका गगन थापाको क्षेत्र भएकाले यो क्षेत्रलाई मिडियाले बढि प्राथमिकता दिएको छ । त्यसबाहेक राजु श्रेष्ठको क्षेत्र भएकाले पनि यो क्षेत्र चर्चित नै छ । २०५ वटा निर्वाचन क्षेत्र भएको नेपालमा नेकाको क्षेत्रीय सभापति खासै वर्णनयोग्य पद वा प्रतिष्ठा मानिदैन र पनि नेका काठमाडौं क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठलाई चिन्दछन् राजधानीमात्र हैन मोफसलका चासो राख्नेहरुले समेत ।

rajujiiiii
यो लेखको प्रशंग राजु श्रेष्ठ सँग छ । करिब ६ वर्ष भयो उनीसँगको मेरो परिचय । नेपाली कांग्रेस काठमाडौै क्षेत्र नं. ४ का सभापति रहेका राजुलाई माओवादी अध्यक्ष तथा हालका प्रम प्रचण्डदेखि धेरै व्यक्तिले नजिकबाट चिन्दछन् । एकताका प्रचण्डले टुँडिखेलबाट च्यालेन्ज गरेका थिए राजु श्रेष्ठलाई । त्यसका केही वर्षपछि सोही टुँडिखेलको सोही मन्चबाट प्रचण्डले राजा ज्ञानेन्द्रलाई च्यालेन्ज गरे । १ वर्षअघि टुँडिखेलको सोही मन्चबाट प्रचण्डले भारतलाई च्यालेन्ज गरेका थिए । यो प्रशंगले राजु श्रेष्ठको उचाई मापन गर्न सकिन्छ ।

त्यसो त राजु श्रेष्ठलाई नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर निकट पनि भनिन्छ । यद्यपि उनी प्रकाशमान सिंहको गुटलाई बढावा दिइरहेको भन्नेहरु पनि छन् । विशेषगरी नेकाको तेह्रौँ महाधिवेशनमा काठमाडौं जिल्ला अधिवेशन, नेविसंघको जिल्ला अधिवेशन तथा तरुण दलको जिल्ला अधिवेशनमा उनले प्रकाशमान पक्षमा आफूलाई ढालेको आरोप लागेको छ । राजु आफैचाहिँ देउवा गुटको भन्न रुचाउँछन् । केन्द्रिय राजनीतिमा देउवा र प्रकाशमान फरक गुटका व्यक्ति हुन्, उनीहरुको मेल छैन ।

नेपाली कांग्रेसभित्रको केन्द्रिय र क्षेत्रीय दुवै राजनीतिमा सिटौला गुटको बिरोधीको रुपमा राजु श्रेष्ठ चिनिन्छन् । उनीसँगको सामान्य भेटमा पनि यो कुराको छनक पाइन्छ । क्षेत्रीय अधिवेशनमा बिजयपश्चात मात्र हैन १२ औँ अधिवेशनबाटै राजुले युवा नेता गगन थापाको बिरोधी अभिमत दिएको सुनिन्थ्यो । राजनीतिमात्र हैन व्यक्तिगत जीवनमा पनि कसैलाई कोही मन नपर्नु सामान्य कुरो मानिन्छ । सम्भवतः सोही अनुरुप नै राजु श्रेष्ठ १२ औँ र १३ औँ दुवै महाधिवेशनमा क्षेत्रीय सभापतिको रुपमा चुनावी प्रकृयामा उठ्दा आफ्ना समकक्षी सभापति उम्मेदवारसँग भन्दा केन्द्रिय नेता गगन थापासँग मैदानमा उत्रिएको आभाष दिन चाहन्थे । १२ औँ मा असफल भए पनि १३ औँ मा उनी सफल भए । यद्यपि उनी किन गगन थापा बिरोधी हुन् भन्ने चाहिँ सम्भवतः उनलाई बाहेक अरुलाई थाहा छैन ।

मैले आजसम्म जतिपटक पनि राजु श्रेष्ठसँग भेटेको छु, सँधै शान्त नै पाएको छु । उनको उग्ररुप मैले देखेको छैन । भन्नेहरु उनलाई उग्र पनि भन्छन् । मलाई नै धेरैले “उहाँको उग्ररुप तपाईँले नदेखेको मात्र हो” भनेका छन् । जे होस् राजनीति गर्ने मानिस शान्त र अशान्त दुवै हुन सक्छन्, समय परिस्थिति अनुसार ।

राजु श्रेष्ठ आध्यात्मिक व्यक्ति हुन् भन्ने कुरामा म सहमत छु । उनीसँग कुरा हुँदा कहिँकतै आध्यात्मिक पक्ष वा चिन्तन देखिनु सामान्य विषय हो । नेपाली कांग्रेसका नेताहरुमा राजु श्रेष्ठले आफ्ना भाषणमा कतिपयपटक गणेशमान सिंहको उदाहरण दिएको सुनिए पनि उनी किसुनजीसँग निकै प्रभावित छन् । बाँडेगाउँ गैराख्छन् । पाइलट बाबादेखि महामण्डलेश्वर बनेकी किसुनजी आश्रमकी अमिता कपालीसँग उनीको सानिध्यता छ । वर्तमान राजनीतिबाट दिक्क भएका पिएल सिंहसँग पनि उनको सकारात्मक उठबस् छ । दैनिक लामो समय पूजाआजा गर्छन् । देवीको ध्यान गर्छन् । उपवास पनि बसिरहेका हुन्छन् । राजु श्रेष्ठको सबैभन्दा महत्वपूर्ण कुरा उनी आफू खानभन्दा अरुलाई खुवाउन रुचाउँछन् ।

बुढानिलकण्ठस्थित शान्त र खुल्ला निवासमा वर्षका २ ४ पटक धेरैलाई बोलाएर खुवाउने उनको नियम जस्तै बनेको छ । तर यो भेलामा उनी सकभर गगन थापाका मान्छेलाईचाहिँ बोलाउँदैनन् । किन बोलाउँदैनन् भन्ने कुरा कसैले अनुमान गर्न सकेका छैनन् । मैले एकपटक ४ वर्षअघि एक भेलामा गगन थापालाई राजु श्रेष्ठकोमा भेटेको थिएँ । सो भेटमा पनि राजुले गगन थापालाई उचित सम्मान नदिएको आभाष भएको थियो । त्यसपछि लगातारजस्तै राजु श्रेष्ठको साना ठूला आतिथ्यतामा गएको भए पनि गगन थापालाई देखिएन । उनले बोलाएनन् वा थापा आएनन् थाहा भएन ।

राजु श्रेष्ठका बालसखा हाल माओवादी केन्द्रबाट राजनीति गर्ने रविन अधिकारीले एक भेटमा राजु सानैदेखि आध्यात्मिक र धार्मिक चरित्रको व्यक्ति भएको बताएका थिए । रविनका अनुसार जुन दिन राजु श्रेष्ठको निवासबाट तत्कालिन माओवादीले पुरै घर घेरेर उनको निजी सवारी साधन लुटेको थियो, त्यो बेला राजु भने पूजामा व्यस्त थिए रे ।

आजका समयमा पनि हरेक दिन बिहानीपखको करिब २ घण्टा उनी पूजाआजामा लिन हुन्छन् । उनको यो महत्वपूर्ण जीवनलाई सरल बनाएकी छिन् उनकी धर्मपत्नी ममता गुरुङले । ममताको बारेमा मेरा एक इसाई मित्र जो नेकाका नेता पनि हुन् सागर बैजुले एक पटक भनेका थिए, “घरमा लक्ष्मीको बास भएको भन्छन् नि, त्यो चाहिँ राजुजीको श्रीमतीलाई देख्दा लाग्छ ।” राजु श्रेष्ठ १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति भएर राति १२ बजे करिब ५० जनाको संख्यामा आफ्ना सहकर्मीसहित घरपुग्दा श्रीमती ममताले सबैलाई खीर पकाएर खुवाएकी थिइन् । राजु श्रेष्ठले आयोजना गर्ने हरेक भोजमा ममताको सक्रिय र अत्यन्त रसमय उपस्थिति हुने गर्छ, साक्षात लक्ष्मीजस्तै । राजनीति गर्ने लोग्नेको स्वास्नीहरुले विरलै श्रीमानलाई सघाएको देखिन्छ । ममता गुरुङ पृथक छिन् र त राजु श्रेष्ठ सफल छन् ।

सबै कुराले यसरी महत्वपूर्ण स्वरुपमा रहेका राजु श्रेष्ठ किन गगन थापालाई देखि सहँदैनन् यो आफैमा अहम् र अझै बुझ्न नसकिएको कुरो हो । राजु श्रेष्ठले पटक पटक भनेका र स्वीकारेका पनि छन्,  जुन स्थानमा उनी छन् र अनि जुन ठाउँमा गगन थापा छन् उनीहरुको प्रतिष्पर्धा नै छैन र हुँदैन । तथापि यो दुरी किन ? के राजु श्रेष्ठजस्तो सरल र धार्मिक आध्यात्मिक मान्छे कुनै एक पात्र जोसँग प्रतिष्पर्धा हुने तत्काल गुन्जाइस छैन ती मान्छेसँग यसरी प्रतिशोध राख्न सक्छन् ? धेरैले यो कृयाकलापलाई राजु श्रेष्ठको स्वभाव विपरित पनि मान्छन् । म आफू पनि राजु श्रेष्ठको गगन थापा विरोधीरुप उनको छवि र स्वभाव विपरित नै मान्दछु ।

तीनहप्ताजति अघि एकसाँझ राजु श्रेष्ठले फोन गरेर मलाई बोलाए, कुशे औँशीको अघिल्लो दिन थियो । त्यो दिन तरुणदल क्षेत्रीय अधिवेशन भएको थियो । साँझ महाराजगञ्ज,चक्रपथको भाटभटेनी अगाडि एक्लै थिए उनी । साँझको बेला शान्त र भद्र स्वरुपमा राजु श्रेष्ठ भाटभटेनीको पर्खालमा थिए । त्यो भेटमा उनले फ्रान्सको मार्सेली गएको सम्झे । मार्सेलीमा एउटा ठूलो रुखमुनी लामो समय एक्लै बसेर जीवन र जगतलाई नजदिकबाट सोचेकोदेखि कहिलेकाहिँ एक्लै शिवपुरी राष्ट्रिय निकुन्जमा गएर वनपैदावारसँग रमाउने, चराहरुको चिरीबिरीमा मग्न हुन मनलाग्ने बताएका थिए । त्यो साँझ पहिलोपटक राजु श्रेष्ठ क्षेत्र नं. ४ को राजनीतिबाट उदाश भएको आभाष भएको थियो मलाई । सोही दिन भएको तरुण दलको क्षेत्रीय अधिवेशनका केही पक्ष लगायतका कतिपय कुराले उनलाई निरुत्साहित बनाएको जस्तो लाग्यो मलाई ।

राजु श्रेष्ठ क्षेत्रीय सभापति भए पनि सचिवलगायत अधिकांश सदस्यलाई उनले आफ्नो बनाउन सकेका छैनन् । अझ यसलाई यसो भनौँ राजु श्रेष्ठले प्रयास नै गरेनन् आफ्नो बनाउन । राजु श्रेष्ठले प्रयास गरे सबै कुरा बन्छ जस्तो लाग्छ मलाई । क्षेत्र नं. ४ मा हाल पार्टीभित्रको डरलाग्दो खाडल छ । कांग्रेस गुटांग्रेसमा पूर्णतः बदलिएको छ । यो माहौललाई राजु श्रेष्ठले चाहे भने १ दिनमा आरामले सल्टाउन सक्छन् । यो भूमिका र जिम्मेवारी दुवैका केन्द्रमा छन् उनी । राजु श्रेष्ठको क्षमता, स्वभाव अनि व्यक्तित्वलाई यी कुराबाट विमुख गराउन कस्ले भूमिका खेलिरहेकोे छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण मान्दछु म । यो चंगुललाई उनले तोड्नु पर्ने देख्दछु म । जो कोही भए पनि सबैभन्दा ठूलो र प्राथमिकताको पक्ष भनेको पार्टी हो । पार्टीलाई सर्वाेपरी मान्दा क्षेत्र नं. ४ मा हुने अबका हरेक घटना वा दुर्घटनाको जिम्मेवार पक्ष क्षेत्रीय सभापति भएकाले त्यो भूमिकामा राजु श्रेष्ठ आफै हुने भएकाले अदृश्य रहेको त्यस्ता चंगुलहरुलाई फोरेर अगाडि बढ्न सक्ने क्षमता उनले देखाउने कुरामा म आशावादी मात्र हैन निश्चिन्त पनि छु ।

आज अनायसै राजु श्रेष्ठसँग भेट भयो चक्रपथको कफिटकमा । करिब एकसातापछि कफिटकमा पुग्दा राजु श्रेष्ठलाई भेटिन्छ भन्ने कल्पना थिएन मेरो । उही भद्र र शान्त स्वरुपमा भेटिएका राजु श्रेष्ठ मलाई कताकता सोचमग्न लाग्यो । राजनीतिमा लागेपछि मान्छे आफ्नो हिसाबले चल्न नपाउने अवस्थामा एक्लै कफि खाएर शान्त हुन आएको बताउँदै थिए उनी । क्षेत्र नं ४ को नेका राजनीतिलाई कसरी अब्बल बनाउने भन्ने सोचमै देखिए । सँगै भेटिएका क्षेत्र नं. ५ का महाधिवेशन प्रतिनिधि मनिष जोशीसँग कुनै एक सामाजिक कामका बारेमा छलफल गर्दै थिए । उनको सामाजिक छवि पनि बेजोडको छ । गतवर्षको भुकम्पपछिका करिब ४ महिना उनी रात विहान नभनी भुकम्प पिडीतको सेवामा लागे । यसमा उनले अरुको पैसाको भर परेनन् आफैले गाडीका गाडी सहयोग लिएर भुकम्प पिडीतको घरमा पुगे । आज पनि उनी भुकम्प पिडीतको जीवनोस्तरका बारेमा कुरा गर्दै थिए मनिष जोशीसँग ।

आजको भेटमा उनले अलिकति कपन अनलाइनसँग अप्रत्यक्ष दुखेसो गरेजस्तो पनि लाग्यो । तर प्रष्ट्याएनन् उनले । व्यक्तिगतरुपमा मसँग पनि केही गुनासो वा दुखेसो गरे जस्तो लाग्यो तर त्यो पनि खुलेर भनेनन् । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा राजु श्रेष्ठजस्तो उच्चकोटीको व्यक्ति पाउनु सम्भवतः काठमाडौं क्षेत्र नं. ४ नेकाको लागि ठूलो कुरो हो । उनको व्यक्तित्व, स्वभाव र गुणबाट कायल भएका व्यक्तिमध्ये म पनि एक हुँ । मलाई लाग्छ आगामी दिनमा क्षेत्र नं. ४ देखिएको पार्टीगत खाडललाई उनले सहज र अकल्पनीय तरिकाले पुर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।