‘छोराछोरीलाई क्यान्सरबाट बचाऔँ’

‘छोराछोरीलाई क्यान्सरबाट बचाऔँ’

कपन अनलाइन /काठमाडौँ, १८ जेठ ।

—कल्पना पौडेल 

सानै बुबालाई चुरोट सल्काएर दिँदै गर्दा चुरोटमा लत बसेपछि ७० वर्षीय वृद्ध ताराप्रसाद त्रिपाठीलाई हाडमा छोएको फोक्सोको क्यान्सर भयो ।

दश वर्षदेखि यस रोगबाट पीडित उहाँलाई अरूको सिको गर्दा बानी परेपछि सुर्तीमा लत बसेकाले छुटाउन नसकेपछि क्यान्सरजस्तो रोगको सिकार बन्नुप¥यो ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आज यहाँ ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०१६’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आफ्ना छोराछोरीलाई यस्तो सिको गर्नबाट बचाउनुपर्ने सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हेर्नुस ! मैले त बुबालाई सल्काएर दिँदै गर्दा धुम्रपानको अम्मली बनेँ । तपाईंहरुले आफ्ना छोराछोरीका अगाडि चुरोट–सुर्तीको नाम पनि लिने काम नगर्नुहोला । नत्र म जस्तै क्यान्सरको रोगी बन्नुपर्ने अवस्था आउँछ । जानी जानी आफू पनि रोगी नबनौँ, सन्तानलाई पनि क्यान्सरबाट बचाऔँ ।”

नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट बर्सेनि १५ हजार मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ त्रिपाठीको उपचारमा संलग्न चिकित्सक एवम् नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका प्रमुख डा सुदीप श्रेष्ठ ।

उहाँले भन्नुभयो, “संसारमा ९० प्रतिशत फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने गर्छ । हाम्रो देशमा पनि अज्ञानताका कारण सुर्तीजन्य पदार्थको अत्यधिक सेवनले गर्दा फोक्सो, मुख, घाँटी, छाती, पिसाब नली, पाटेघरको मुखलगायतका क्यान्सर रोग बढ्दै गएको छ ।”

ग्रामीण क्षेत्रमा अज्ञानताका कारण सुर्तीसेवन गर्नेको सङ्ख्या बढी रहेको र सहरी क्षेत्रमा देखासिकी गर्ने बानीका कारण सुर्तीजन्य पदार्थको सेवन गर्ने बढिरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार नेपालमा क्यान्सरको यकिन तथ्याङ्क नभए पनि वर्षमा ४० देखि ५० हजार रहेका छन् । नेपाल जनसाङ्ख्यिक सर्वेक्षण सन् २००६ को तथ्याङ्कअनुसार ५६.५ प्रतिशत पुरुष र १९.५ प्रतिशत महिलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दछन् ।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका निर्देशक डा विजेशराज घिमिरे झन्डै ९० प्रतिशत फोक्सोको क्यान्सरको एक मात्र कारण धुम्रपान अर्थात् सर्तीजन्य पदार्थको सेवन रहेको बताउनुहुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वभरमा ६० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । त्यसमध्ये ५० लाखभन्दा बढीको मृत्यु प्रत्यक्षरुपमा सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ भने ६ लाख मानिसको मृत्यु अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको प्रयोग गर्दा हुने गरेको पाइएको छ ।

सङ्गठनका अुनसार विश्वभरि एक अर्ब धुम्रपान सेवन गर्ने मानिसमध्ये ८० प्रतिशत मानिस विकासोन्मुख देशका रहेका छन् । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, दम, निमोनिया, ब्रोङकाइटिस मुटुसम्बन्धी रोग लाग्ने बताउनुहुन्छ ।

नेपालजस्तो बर्सेनि सुर्तीजन्य पदार्थको कारण हुने क्यान्सरबाट बच्न तथा बचाउन प्रारम्भिक अवस्थामा यसको नकारात्मक असरबारे जनचेतना फैलाउन आवश्यक भएको डा घिमिरेको भनाइ छ ।

विश्वमा हरेक वर्ष मे ३१ तारिखलाई ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ मनाउने गरिन्छ । यस वर्ष पनि ‘सुर्तीजन्य पदार्थको सादा प्याकेजिङका लागि तयार हौँ’ भन्ने नाराका सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि मनाइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।