एमाले औपचारिक रूपमै विभाजन, ओली समूहले दाङमा छुट्टै काबा अध्यक्ष तोक्यो
गणेश आचार्य कपन अनलाइन /दाङ, १६ जेठ ।
उपाध्यक्ष जोगबहादुर राना कार्यवाहक अध्यक्ष बनेसँगै चरम गुटको भासमा भासिएको नेकपा एमाले दाङ शाखा आजदेखि औपचारिक रूपमा बिभाजन भएको छ ।
संस्थापन(केपी ओली) समूहको आज बसेको बैठकले काबा अध्यक्ष रानाले पार्टी नीति बिपरित काम गरेको भन्दै उनलाई पदबाट हटाएर सचिव हुकुम बस्नेतलाई काबा अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठक सचिव बस्नेतकै अध्यक्षतामा बसेको थियो । अध्यक्ष नरूलाल चौधरी केन्द्रीय सदस्यमा चुनाब हारेपछि राना स्वतः काबा अध्यक्ष बनेका थिए ।
रानाले जेठ ६ गते गर्ने भनिएको जिल्ला अधिवेशन नगरेर पार्टी नीति विपरीत काम गरेकाले उनलाई बर्खास्त गरि सचिव बस्नेतलाई काबा अध्यक्ष तोकेको जिल्ला सचिवालय सदस्य उत्तर वलीले जानकारी दिए ।
वलीका अनुसार बैठकले असार १८ गते जिल्ला परिषद् गर्ने निर्णय समेत गरेको छ । बैठकमा ४७ जना जिल्ला कमिटी सदस्य उपस्थित भएकाले बहुमतका आधारमा गरिएको निर्णय कार्यान्वयन हुने वलीले दाबी गरे ।
यता, एमालेका केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज मेटमणी चौधरीले आजको बैठक जिल्ला कमिटीको नभई एउटा ‘झुन्ड’को भएको दावी गर्दै काबा अध्यक्ष राना नै भएको बताए । उनले एउटा ‘झुन्ड’को निर्णयले काबा अध्यक्ष बनेका सचिव हुकुम बस्नेतलाई पार्टीबाटै कार्वाही गरिने दावी गरे । चौधरी बरिष्ठ नेता माधवकुमार नेपाल समुहका हुन् ।
संस्थापन समुहको आजको बैठकमा राप्ती अञ्चल इन्चार्ज खेममान खड्का, सह इन्चार्ज गुलाबजंग शाहको समेत उपस्थित थिए । खड्का र शाह संस्थापन समुहका हुन् ।