दक्ष र कर्मठ युवाशक्तिबाटै देश निर्माण– प्रधानमन्त्री ओली

दक्ष र कर्मठ युवाशक्तिबाटै देश निर्माण– प्रधानमन्त्री ओली

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता जति शारीरिक र मानसिकरुपले सङ्गठित, सवल र सक्रिय रहन्छन् त्यसैअनुरुप देशले विकास र समृद्धिमा सार्थकता पाउने बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११ आँै समूहको दीक्षान्त कवाज समारोहलाई आज सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– युवाको मनोविज्ञान, क्षमता अभिवृद्धिमा सेवा दलले पु¥याएको योगदानको प्रसङ्सा गर्दछु ।

1458117734348_NN-Ktm-PM-NP (9)

प्राम  केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको ५० औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११ औँ समूहको दीक्षान्त कवाज समारोहलाई बुधबार सैनिक मुख्यालयमा सम्बोधन गर्नुहुँदै । तस्बिर ः नारायण न्यौपाने, रासस

सक्षम, कर्मठ, दक्ष, निष्ठावान सक्रिय र सङ्कल्पको भावनाले अभिप्रेरित अनुशासित युवा शक्तिबाट मात्रै राष्ट्र निर्माण सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सेवाको भावना, एकता, समर्पणको अभिव्यक्ति र अत्यन्त अनुशासित ढङ्गबाट सेवा दलका छात्रछात्राबाट प्रस्तुत मनोभावनाले सबैको मन जित्न सक्नुपर्छ भन्नुभयो ।

काम, व्यवहार, बचन, सेवा, इमान, अनुशासन र देशभक्तिका दृष्टिले उदाहरणीय पात्रका रुपमा काम गर्न छात्रछात्रालाई निर्देशन दिँदै उहाँले भन्नुभयो– यो अभियान एउटा अभ्यास मात्र नभएर यसले दक्ष जनशक्ति निर्माणमा आत्मबल बढाउन योगदान पु¥याउनेछ ।

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, नेतृत्वदायी, एकताबद्ध, बफादार र देशभक्त तुल्याउने अभियानलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।

यस आवमा ३७ जिल्लाबाट दुई हजार छात्रछात्रालाई तालिम प्रदान गरिने लक्ष्य रहेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले खास गरी माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रछात्रालाई लक्ष्य गरेर उक्त तालिम सञ्चालन गर्दै आएको छ । आजको समारोहमा ३७७ जना छात्रछात्राले दीक्षान्त हासिल गरेका छन ।

मुलुकभरबाट उक्त तालिमको अत्यधिक माग हुँदै आएको छ । आगामी दुई वर्षभित्रमा वार्षिकरुपमा मुलुकका ७५ जिल्लाका सात हजार ५०० छात्रछात्रालाई यो तालिम प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

करिब १०० दिन अवधिको उक्त तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई समारोहमा प्रधानमन्त्री ओलीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दीक्षान्त कवाज प्रस्तुत गर्ने क्रममा प्रशिक्षार्थीले नेपाली विविधता युक्त वेषभूषा झल्कने नृत्य र गीतसङ्गीत प्रस्तुत गरेका थिए । सो अवसरमा समूहगत रुपमा कवाजका प्रस्तुतका साथै रोमाञ्चकारी जोखिपूर्ण खेलसमेत प्रस्तुत गरियो ।

समारोहमा रक्षामन्त्री भीमबहादुर रावल, सचिव जयमुकुन्द खनाल सहभागी हुनुहुन्थ्यो । रासस

तपाइँको प्रतिक्रिया ।