एमालेको सगरमाथा अञ्चल प्रशिक्षण भेला सुरु

एमालेको सगरमाथा अञ्चल प्रशिक्षण भेला सुरु

गाईघाट (उदयपुर), २४ पुस । नेकपा (एमाले)को दुईदिने सगरमाथा अञ्चलस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेला उदयपुरको सदरमुकाम गाईघाटमा औपचारिक रुपमा सुरु भएको छ ।

हिजो सुरु भई आज पुस २४ गतेसम्म सञ्चालन हुन गइरहेको अञ्चलस्तरीय पार्टी प्रशिक्षण भेलामा सगरमाथा अञ्चलका छ जिल्लाका पार्टी प्रतिनिधिहरुले प्रशिक्षण लिइरहेको आयोजक समितिका सदस्य तथा उदयपुर पार्टी अध्यक्ष ईश्वरमणि राउतले बताउनुभयो ।

उक्त अञ्चलस्तरीय प्रशिक्षण भेलामा सगरमाथा अञ्चलका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सप्तरी, सिरहा तथा उदयपुरसहितका जिल्लाबाट झन्डै ८०० पार्टी कार्यकर्ताले प्रशिक्षण लिइरहेको कुरा नेकपा (एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य तथा सगरमाथा अञ्चल सह–इन्चार्ज जगन्नाथ खतिवडाले बताउनुभयो ।

उक्त प्रशिक्षण भेलाका सहभागीहरुलाई नेकपा (एमाले)का केन्द्रीय सचिव भीम आचार्य र पार्टीका स्थायी समितिका सदस्य राजेन्द्र पाण्डेसहितका नेताहरुले प्रशिक्षण दिइरहनुभएको पनि आयोजकले बताएको छ ।

वर्तमान समयमा पार्टीका कार्यकर्ताले पार्टीको रणनीतिअनुसार खेल्नुपर्ने भूमिका र वर्तमान संविधानको विषयमा फैलाइएका भ्रमलाई कार्यकर्तामार्फत गाउँगाउँमा गएर चिर्नका लागि उक्त प्रशिक्षण कार्यक्रम भइरहेको अर्का केन्द्रीय सदस्य बलदेव चौधरीले बताउनुभयो ।

यस्तै सगरमाथा अञ्चलमा एमालेको सङ्गठन अझै सुदृढ बनाएर लान तथा आगामी स्थानीय निर्वाचनमा पार्टीको प्रभाव सशक्त बनाउनका लागि पनि अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकको धारणा रहेको छ ।

पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि अब सगरमाथा क्षेत्रमा पार्टीको प्रभाव झनै बलियो र विस्तार भएर जाने आयोजकले बताएका छन् ।

गाईघाटस्थित पुरानो हवाई मैदानमा सञ्चालन भइरहेको उक्त प्रशिक्षण कार्यक्रमको बिहिवार सो पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पार्टी महासचिव ईश्वर पोखरेलले औपचारिक उद्घाटन गर्नुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।