‘फूलै फूलको मौसम तिमीलाई’ को बिमोचानमा प्रधानमन्त्री

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति र परम्परालाई विकसित र आधुनिक बनाउँदा गौरवपूर्ण परम्परा, सुन्दर संस्कृति र विविधतालाई जोगाउनेतर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्रको शीर्ष गीतको श्रव्य चक्काको सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो – नेपाली लोक सङ्गीत, वाद्यवादन र धुन नै नेपालको मौलिक परम्परा भएकाले पनि नेपालको पहिचान विश्वमै फरक रुपमा रहेको छ ।

पाखामा गाई चराउँदा, घाँस काट्दा गीत रचना हुने भएकाले गीत सङ्गीतमा नेपाल धनी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
सांस्कृतिक परम्पराले इतिहासको सम्बद्र्धनका साथै भावी दिनको समेत सङ्केत गर्ने उहाँले बताउनुभयो ।

आफूले गोरखा–तनहुँ–लमजुङमा ‘स्मार्ट सिटी’को कल्पना गरेको र त्यो चलचित्र निर्माण गर्ने उपयुक्त थलो हुनसक्ने पनि उहाँले बताउनुभयो । रु तीन करोडको लागतमा निर्माण भएको सो चलचित्रका निर्देशक दिनेश डिसीले चलचित्रको समग्र विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।

सो चलचित्रको गीत वरिष्ठ गीतकार रत्न शम्शेर थापाले रचना गर्नुभएको हो ।

तपाइँको प्रतिक्रिया ।