कतारमा हुने जुनियर टेनिसकपका खेलाडीलाई बिदाई

काठमाडौँ, ७ पुस । कतार एसियाली जुनियर टेनिस कपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित तीन सदस्यीय नेपाली लनटेनिस टोली आज कतारको दोहा प्रस्थान गरेको छ ।

यही पुस ८ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई सफलताको शुभकामना दिँदै अखिल नेपाल लनटेनिस सङ्घका महासचिव मनोहरदास मुलले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले चौध वर्षमुनि (यु–१४) उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, प्रतियोगितामा संरक्षक र प्रणवले छुट्टाछुट्टै एकल विधामा खेल्नेछन् भने दुवैजना मिलेर डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित विभिन्न आठ राष्ट्रको सहभागिता रहने नेपाली टोलीका टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जानकारी दिनुभयो ।

गत वर्ष दोहामै भएको उक्त प्रतियोगतामा नेपालले कांस्य पदक जितेको थियो । प्रशिक्षक वज्राचार्यले यसपटकको प्रतियोगितामा उपाधि नै जित्ने लक्ष्य रहेको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।