कलाकार खड्काको ‘सम्पूर्णता’
काठमाडौंँ, २ पुस । तारागाउँ सङ्ग्रहालय बौद्ध टुसालमा कलाकार पुरन खड्काको आठौंँ एकल कला प्रदर्शनी मङ्गलबारदेखि सुरु भएको छ ।
सङ्ग्रहालयको आयोजनामा भएको ‘सम्पूर्णता’ शीर्षकको कला प्रदर्शनीमा कलाकारले भौतिक जगत्का देखिने र नदेखिने रहस्यलाई केलाउने प्रयास गर्नुभएको छ । कालो, सेतो, रातो र खैरो रङ प्रयोग गरिएका चित्र भावप्रधान छन् ।
विसं २०७० चैतदेखि सञ्चालनमा आएको सङ्ग्रहालय कलाका विविध गतिविधि तथा नेपालका परम्परागत संस्कृति र सम्पदाको संरक्षणमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको हो । साथै सङ्ग्रहालयले कला ग्यालरी पनि सञ्चालन गर्दै आएको छ ।
प्रदर्शनीमा कलाकार खड्काले अमूर्त शैलीमा तयार पारेका २० चित्र राखिएको छ । नेपाली कला क्षेत्रमा साढे तीन दशकदेखि क्रियाशील खड्काले अमूर्त शैलीमा कला रच्दै आउनुभएको छ । “जीवनका धेरै बाटा हुन्छन्, तीमध्ये कला पनि एउटा हो, कलामार्फत हामीले जीवनको रहस्य बुझ्ने प्रयास गरेका हुन्छौंँ”कलाकार खड्काले बताउनुभयो । उहाँले थप्योे,“देखिने र नदेखिने दुवै मिलाएर मात्र सम्पूर्णता हुन्छ ।”
“वहाँका चित्र आफैँमा अमूर्त छ । चित्रमा रातोको प्रयोगले विषयलाई सम्पूर्णता दिएको छ ।” सङ्ग्रहालयका निर्देशक तथा क्युरेटर रोशन मिश्रले बताउनुभयो । प्रदर्शनी दुई सातासम्म रहने छ ।