पोखरा विश्वविद्यालयको समग्र सुधारमा जोड

पोखरा विश्वविद्यालयको समग्र सुधारमा जोड

१८ मङ्सिर । पोखरा विश्वविद्यालय सभाका सभासद्हरूले समयसापेक्ष रुपमा शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्दै विश्वविद्यालयको समग्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

यही मङ्सिर २७ गते हुने विश्वविद्यालयको १६औँ साधारणसभाको बैठकका प्रस्तुत हुने प्रस्तावका एजेन्डाको साझा अवधारणा बनाउने सन्दर्भमा हिजो यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा सभासद्हरूले आन्तरिक र बाह्य रूपमा विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।

विश्वविद्यालयलाई लेखनाथ ढुङ्गेपाटनको घेरामा मात्र सीमित गर्न नहुने भन्दै अन्तक्र्रियामा विश्वविद्यालयले आङ्गिक कलेजको विस्तारमा जोड दिनुपर्ने र परीक्षा प्रणालीमा व्यापक सुधार गर्दै एकेडेमिक क्यालेन्डर अनुसार समयमै परीक्षा लिनुपर्ने आवश्यकता औँल्याइएको थियो ।

विश्वविद्यालयभित्र बन्द हडतालको राजनीति अन्त्य गरिनुपर्ने जरुरी छ भन्दै विश्वविद्यालय सभाका सभासद् एवम् ला ग्रान्डी इन्टरनेसनल कलेजका संस्थापक देवराज चालिसेले प्राध्यापकहरूको पेसागत हकहितलाई सुनिश्चित गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्रिभुवन शान्ति उच्च माविका प्रधानाध्यापक मित्रलाल सापकोटाले विश्वविद्यालयका समस्याको न्यूनीकरणमा स्थानीय सभासद् र नागरिक समाजसँग हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

वन विज्ञान अध्ययन संस्थान, पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठीले प्राज्ञिक व्यक्तित्वहरूलाई विश्वविद्यालयले समेट्नुपर्ने बताउनुभयो ।

लक्ष्मी गु्रपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विगतका कमी कमजोरीलाई समीक्षा गरी विश्वविद्यालयले शैक्षिक योजना तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अन्तक्र्रियामा विश्वविद्यालय सभाका अन्य सभासद् मल्टी मोडल उच्च माविका प्रधानाध्यापक कृष्ण केसी, पृथ्वीनारायण क्याम्पस, पोखराका सहप्राध्यापकद्वय कमल ढकाल, हुतराज शर्मा तथा उपप्राध्यापक कमलराज पौडेल, समाजसेवी विष्णु पौडेल, पोखरा विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति उपप्र्राध्यापक निराजन बम र उपप्राध्यापक बुद्धिराज जोशीलगायतले विश्वविद्यालयको भावी रणनीति तयार गर्न विशेष सभा बोलाउन सुझाव दिनुभएको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्मा, रजिस्ट्रार गोविन्दप्रसाद शर्मा र मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा डा इन्द्रप्रसाद तिवारीले सभासद्हरूले उठाएका विषय र सुझावलाई मध्यनजर गर्दै विश्वविद्यालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।