प्रारम्भिक बाल शिक्षामा स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको सरोकारवालाको भनाई
कपन अनलाइन
काठमाडौं असोज १९।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को आयोजनामा ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ (Symposium on Early Grade Education and Policy Framework) सम्पन्न भएको छ। काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा भएको कार्यक्रममा प्रारम्भिक बाल शिक्षालाई व्यवस्थित, प्रभावकारी र विद्यालय शिक्षाको मुख्य आधारका रूपमा स्थापित गर्न स्पष्ट नीतिगत संरचना आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
अपेनका केन्द्रीय अध्यक्ष कृष्ण कुमार बोहराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचन प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू गुरु प्रसाद बराल र रन्जु दर्शना, शिक्षा क्षेत्रका विज्ञ, शैक्षिक अभियन्ता तथा बाल विकास क्षेत्रका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा कार्यपत्र प्रस्तुति र बहस कार्यक्रममा प्रारम्भिक बाल शिक्षाका बहुआयामिक पक्षहरूमाथि निम्न विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरियो:
- डा. महाश्रम शर्मा (पूर्व सचिव, नेपाल सरकार): ‘इसीडी पोलिसी रिभ्यु एन्ड फ्युचर डिरेक्सन’
- बद्रीप्रसाद दाहाल (संस्थापक अध्यक्ष, अपेन): ‘अर्ली ग्रेड एजुकेसन इकोसिस्टम’
- अभिषेक घिमिरे (शैक्षिक अभियन्ता): ‘अर्ली ग्रेड एजुकेसन थ्रु कम्युनिटी पर्सपेक्टिभ’
- इन्द्रप्रसाद काफ्ले (रजिस्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय): ‘स्पिरिचुअल पिस एन्ड भ्यालुज इन अर्ली ग्रेड स्कुल एजुकेसन’
- डा. मीनाक्षी दाहाल (इसीडी विज्ञ): ‘सिन्थेसिस एन्ड रिमार्क्स’
सञ्चारकर्मी समा थापाले सहजीकरण गरेको प्यानल छलफलमा प्रतिनिधिसभा सदस्यहरू गुरु प्रसाद बराल र रन्जु दर्शना, शैक्षिक अभियन्ता अभिषेक घिमिरे र अपेन अध्यक्ष कृष्णकुमार बोहरा प्यानलिस्टका रूपमा सहभागी रहेका थिए ।
सो छलफलका क्रममा निर्माणणाधीन विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाको स्थान, राज्यको दायित्व, शिक्षकहरूको क्षमता विकास, संस्थागत संरचना तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिगत स्पष्टताका विषयमा गहन बहस भएको थियो।
मुख्य निष्कर्ष तथा मागहरू
१. प्रारम्भिक बाल शिक्षालाई केवल विद्यालय प्रवेश पूर्वको तयारीका रूपमा मात्र नभई बालबालिकाको सिकाइ, व्यवहार, सामाजिक विकास र समग्र व्यक्तित्व निर्माणको जगका रूपमा विकास गरिनुपर्छ। त्यसकोलागिअबबन्नेशिक्षाऐनलेनीतिमैस्पष्टरुपमा३वर्षदेखि९वर्षसम्मकोबालबालिकाकोस्याहाररगुणस्तरीयशिक्षाकोलागिअर्लीग्रेडस्कुलसंरचनाकायमगरिनुपर्छ।
२. नीति निर्माण गर्दा बालबालिकाको आवश्यकता, शिक्षकको भूमिका, सिकाइ वातावरण र व्यावहारिक कार्यान्वयन पक्षलाई केन्द्रमा राखिनुपर्छ।
३. उपयुक्त लगानी, गुणस्तरीय जनशक्ति र स्पष्ट नियमनबिना अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने भएकाले राज्यले यस क्षेत्रमा स्पष्ट दायित्व लिनुपर्छ।
अपेनले प्रारम्भिक बाल शिक्षाको नीति तथा संरचनाबारे सरोकारवालाबिच बहस र संवाद बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको जनाएको छ। प्रस्तावित विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षासम्बन्धी विषयलाई व्यवहारिक, स्पष्ट र बालकेन्द्रित बनाउन कार्यक्रमले विशेष ध्यानाकर्षण गराएको छ।
