दौड : शिबहरि खतिवडा ( कविता )

दौड :  शिबहरि खतिवडा ( कविता )

कपन अनलाइन
काठमाडौं असोज १९।
जन्मिएदेखि नै
कसैले हात समाएर हिँडायो,
अलि ठूलो भएपछि
आफैँ दौडिन सिकेँ ।
कहिले जित्न दौडिएँ,
कहिले हारबाट बच्न दौडिएँ,
कहिले अरूभन्दा अघि पुग्न,
कहिले आफ्नै हिजोलाई उछिन्न दौडिएँ ।
दौडिँदा–दौडिँदै
कहिले बाटो हेर्न भ्याइनँ,
कहाँ पुग्दैछु भनेर पनि सोचिनँ,
बस्—दौडिनु नै जीवन हो
जस्तो लागिरह्यो ।
समयले पछाडिबाट
कहिल्यै फर्केर हेरेन,
म पनि अगाडिको गन्तव्य खोज्दै
आफ्नै पाइला गन्दै हिँडिरहेँ ।
कति जितेँ,
कति गुमाएँ—
आज हिसाब गर्दा
थाहा भयो,
दौडमा सबैभन्दा धेरै
आफैँलाई नै छोडेर आएछु ।
अब थकाइ लाग्न थालेको छ,
तर रोकिएर बस्ने ठाउँ पनि छैन,
किनकि जीवनले
आरामभन्दा अगाडि
फेरि एउटा बाटो देखाइदिन्छ ।
तर एउटा प्रश्न
आजसम्म कसैले बुझाउन सकेन—
यो दौडको अन्त्य
जीवन रहेसम्म त हो,
जीवनपछिको दौड
त कसले पो देखेको छ र ?
सायद
त्यसपारि पनि कुनै बाटो होला,
सायद केही पनि नहोला ।
तर यति चाहिँ थाहा छ—
आज जुन बाटोमा छु,
त्यसलाई इमानदारीसाथ हिँड्नु छ ।
गन्तव्य देखिँदैन भन्दै
यात्रालाई अर्थहीन बनाउन सकिँदैन ।
किनकि
जीवनको सबैभन्दा ठूलो रहस्य
दौड कहाँ पुग्छ भन्ने होइन—
दौडिरहँदा
हामी आफूलाई
कहाँ छोड्दै गइरहेका छौँ भन्ने हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।