ट्राफिक प्रहरी प्रभाग कपनको चाडपर्व लक्षित माइकिङ अभियान सुरु

ट्राफिक  प्रहरी प्रभाग कपनको चाडपर्व लक्षित  माइकिङ अभियान सुरु

कपन अनलाइन

काठमाडौं, असोज १६ ।

काठमाडौं। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी प्रभाग कपनले ट्राफिक सचेतनामूलक माइकिङ अभियान सुरु गरेको छ।

चाडपर्वको समयमा बजार तथा सडक क्षेत्रमा बढ्ने सवारी चाप, अव्यवस्थित पार्किङ र त्यसबाट हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यले कपन क्षेत्रका विभिन्न स्थानमा माइकिङमार्फत चालक तथा सर्वसाधारणलाई सचेत गराउन थालिएको हो।

अभियानअन्तर्गत सडक तथा सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ नगर्न, तोकिएको स्थानमा मात्र पार्किङ गर्न, ट्राफिक संकेत तथा नियमको पूर्ण पालना गर्न र सवारी चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै, चाडपर्वका बेला किनमेल तथा आवतजावत गर्ने सर्वसाधारणको चाप बढ्ने भएकाले सडक आवागमन सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको सन्देशसमेत माइकिङमार्फत दिइएको छ।

“जथाभावी पार्किङ नगरौँ, ट्राफिक नियमको पालना गरौँ र सुरक्षित तथा व्यवस्थित चाडपर्व मनाऔँ” भन्ने सन्देशसहित सुरु गरिएको अभियानले कपन क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरी प्रभाग कपनले सवारी चालक, व्यवसायी तथा सर्वसाधारण सबैलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।