सनसाइन र इनोभेटिभ तथा पाठशाला र आरआईबीएस उपाधिका लागि भिड्ने
कपन अनलाइन
काठमाडौं भदौ ३१।
बाल दीक्षा सदन स्कुलको आयोजनामा जारी पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिताको छैटौँ दिन छात्र र छात्रातर्फका सेमिफाइनल खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
छात्रातर्फको पहिलो सेमिफाइनलमा पाठशाला फाउन्डेसन नेपालले आयोजक बीडीएसलाई १९–७ ले तथा निष्ट ‘बी’ लाई आरआईबीएसले २३–१९ ले पराजित गर्दै फाइनलमा स्थान बनाए। उपाधिका लागि पाठशाला र आरआईबीएसबीच प्रतिस्पर्धा हुनेछ।
छात्रतर्फ सनसाइन माध्यमिक बोर्डिङ स्कुलले नवज्योति सेकेन्डरी स्कुललाई ३३–२४ ले हराउँदै फाइनलमा स्थान बनायो। अर्को सेमिफाइनलमा इनोभेटिभले जेनियन नेसनल एकेडेमीलाई १७–८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
छात्रतर्फ सनसाइन र इनोभेटिभ तथा छात्रातर्फ पाठशाला र आरआईबीएसले उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ। सहभागी विद्यालयबाट छात्रतर्फ १३ र छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन्।
प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्। बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ।
