चार मुक्तक : नवराज पौडेल

चार मुक्तक :  नवराज पौडेल

कपन अनलाइन
काठमाडौं भदौ २७।
प्रत्येकको जिन्दगीमा एउटा मोड आउँछ
दास बन्ने कि बिन्दाश बन्ने छान्न लगाउँछ
आम मान्छेबाट विशेष मान्छे बन्नको लागि,
आत्माले विवेक प्रयोगको मौका दिलाउँछ ।

वनपाखामा भेटिएका पुतलीहरू नटुवा हुन्
सँगै बगौँला, सँगै तरौँला भन्नेहरू ढटुवा हुन्
नदी बग्दै जाँदा भेटिएका ढुङ्गा अनि बालुवा,
ती त केवल मात्र यात्रामा भेटिएका बटुवा हुन् ।

जो धेरै शक्तिशाली हुन्छ, उसैको हुन्छ निन्दा
जसले डटेर मुकाबिला गर्छ, उही हुन्छ जिन्दा
झुक्छन् त्यहीँ शिर, जहाँ लाभको हुन्छ हिसाब,
आफ्नै विवेकको बन्धक ऊ बन्छ सधैँ कारिन्दा ।

शक्तिको उन्मादमा गमक्क मान्छे, गम्मकिँदै जान्छ
विरोध खप्न सक्दैन, ऊ अनि झनै बम्किदै जान्छ
दुनियाँको आँखामा अँध्यारो छेप्दैमा लुक्दैन केही,
जति रात छिप्पिँदै जान्छ, उति दृष्टि चम्किँदै जान्छ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।