विपत्तिको भेल : हेमा सुवेदी

विपत्तिको भेल :  हेमा सुवेदी

कपन अनलाइन

काठमाण्डौ,असार २०।

कयौँ नेपालीको सास खोस्यो,
बाँच्ने र बच्नेको आश खोस्यो ।
कतै घर खोस्यो, कतै आँगन खोस्यो,
कतै त सिंगो परिवारको साथ खोस्यो ।
कतै आमाको काख रित्तियो,
कतै बाबुको काँध थाक्यो,
साना नानीका आँखाभरि
भोलिको सपना चर्कियो,
बाढी आयो
माटो मात्र बगाएन,
मान्छेका वर्षौँका पसिना बगायो,
सम्पत्ति मात्र बगाएन,
संस्कृति , संस्कार अनि पहिचान बगायो
जिन्दगीभरि जोडेको सपना बगायो
कतै आश बगे,
कतै बास बगे,
पुराना हिसाब–किताबसँगै
मनका रिस–राग पनि बगे ।
तर हे विपत्ति!
तिमीले घर ढाल्न सक्छौ,
हाम्रो हिम्मत ढाल्न सक्दैनौ
तिमीले बाटो छेक्न सक्छौ,
हाम्रो यात्रा रोक्न सक्दैनौ ।
भग्नावशेषबाट फेरि
नयाँ बिहान जन्मिनेछ,
आँसु पुछ्दै यही माटोमा
नयाँ आशा उम्रिनेछ ।
आज गुमाएकाआफन्तहरूको सम्झनामा
हामी हातेमालो गर्दै
घाउमा मलम, मनमा साहस बोकी
फेरि एउटा सुन्दर घरपरिवारसंगै
आफ्नु आंगन सजाउनेछौँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।