म : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ, भाद्र ६ ।
१. म नौला सपना टिप्दै खाल्डोमा हाल्न सक्दिन
पैसाको रापमा सेक्दै म आस्था बाल्न सक्दिन
आमाका गहमा आँसु झरेको देख्न सक्दिन
म हाँसेर अँध्यारोका कविता लेख्न सक्दिन
२. बाटामा नहिँडी होला, माटाको ममता कुन ?
अनेक स्वार्थमा होला, न्याय र समता कुन ?
हेपेर शत्रुले साँध टेकेको देख्न सक्दिन
लुकाई दर्द हाँसोका कविता लेख्न सक्दिन
३. फाइदा छ भनी आफ्नै म बास पोल्न सक्दिन
स्याबासी भेट्न आमाको विरुध्द बोल्न सक्दिन
अग्लो महल आशाको ढलेको देख्न सक्दिन
देश रुँदा म हाँसोका कविता लेख्न सक्दिन
४. इतिहास सबै मेटी म सग्लो हुन्छु भन्दिन
टेकेर अरुको काँध म अग्लो हुन्छु भन्दिन
दीयो स्वाधीनताको यो, निभेको देख्न सक्दिन
निराशा मनमा साँच्दै कविता लेख्न सक्दिन
५. म आफ्नै पसिनाबाट भिजेको खेत रोज्दछु
र आफ्नै श्रमका थोपा परेको ओत खोज्दछु
कमाई झुटको खाँदै हिँडेको देख्न सक्दिन
म बरा, बिचरा, बन्दै, कविता लेख्न सक्दिन
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
