घिउको स्वाद : महेन्द्र चालिसे (कथा)

घिउको स्वाद : महेन्द्र चालिसे (कथा)

कपन अनलाइन

काठमाडौं,साउन २४।

गाउँमा होस् वा सहरमा, केही मानिसहरू आफ्ना वास्तविक हैसियतले होइन, अरूले देख्ने छविले चिनिन चाहन्छन् । सुमना त्यस्तै पात्र थिई । उनको जीवन दर्शन मानौं चार्वाकको एउटै वाक्यमा सीमित थियो “येन केन प्रकारेण, ऋणं कृत्वा घृतं पिबेत ।” अर्थात्, जसरी भए पनि, ऋण गरेर भए पनि घिउ खानुपर्छ; आजको सुख नै सबैथोक हो, भोलिको चिन्ता किन गर्ने ?
कसैको दशैं आयो भने सबैभन्दा पहिले उपहार उनको घरबाट पुग्थ्यो । तिहारमा महँगो ड्राइफ्रुटको प्याकेट, विवाहमा सुनजस्तै देखिने महँगा गिफ्ट, जन्मदिनमा आकर्षक घडी, बच्चाको पास्नीमा बाक्लो खाम । मावली जाँदा होस् वा आफन्तको घर, खाली हात जानु त उनको शब्दकोशमै थिएन । उपहारको आकारले सम्बन्धको गहिराइ नापिन्छ भन्ने विश्वास मानौं उनमा गडेको थियो । उनी टाढा टाढा मात्र हैन गाउंका भरभर डुल्न पनि असाध्यै रुचाउँथिन् । त्यसैगरी शनिबार घरमा बस्नु भनेको समयको बर्बादी ठान्थिन् । कहिले काहां कहिले काहां, कहिले क्याफे, कहिले रिसोर्ट ।
साथीहरूले सार्वजनिक बस चढ्ने कुरा गर्दा उनी मुसुक्क हाँस्छिन् । “बसमा किन जाने ? इनड्राइभ बुक गरौँ, आरामसँग पुगिन्छ ।” उनको मोबाइलमा इनड्राइभ र पठाओका नोटिफिकेसनहरू सधैं सक्रिय हुन्थे । सय रुपैयाँ बचाउन लाइनमा बस्ने मानिसहरूलाई उनी जीवन बुझ्न नसकेका प्राणी ठान्थिन् ।
सुमनाको अर्को विशेषता थियो बोली । उनी शब्दलाई तरबारजस्तै चलाउन जान्दथिन् । रिसाएको मानिसलाई दुई मिनेटमै हँसाइदिन सक्थिन् । नयाँ मान्छेलाई पुरानो साथी बनाइदिन सक्थिन् । कसैले सानो सहयोग माग्यो भने उनी कहिल्यै पछि हट्दिनथिन् । त्यसैले धेरैको नजरमा उनी उदार, मिलनसार र सफल थिइन् ।
उनले बेला बेलामा साथीहरूलाई भोज खुवाउँथिन् । महँगा रेस्टुरेन्ट, स्वादिला परिकार, सेल्फी, हाँसो, रमाइलो । साथीहरू भन्थे, “सुमनाजस्तो दिलदार मान्छे भेट्न गाह्रो छ ।” उनको वरिपरि प्रशंसकहरूको भीड थियो । कसैले उनको जीवनशैलीको प्रशंसा गथ्र्यो, कसैले उनको उदारताको । सबैलाई लाग्थ्यो, यति खर्च गर्न सक्ने मान्छे अवश्य नै सम्पन्न हुनुपर्छ ।
तर यो चम्किलो संसारको पछाडि एउटा अँध्यारो कोठा थियो, जहाँ केवल सुमना र उनका ऋणदाताहरू मात्र पुग्न सक्थे । महँगो उपहारको मूल्य बैंकको क्रेडिट कार्डले तिरेको हुन्थ्यो । रिसोर्टको बिल साथीहरूले देख्नुअघि नै डिजिटल ऋण एपबाट आएको रकमले चुक्ता गरिएको हुन्थ्यो । इनड्राइभको भाडा कुनै साथीसँग “भोलि फिर्ता गर्छु” भनेर सापटी लिएको पैसाबाट तिरिएको हुन्थ्यो ।
एकजनाबाट पाँच हजार, अर्काबाट दश हजार, सहकर्मीबाट बीस हजार, आफन्तबाट पन्ध्र हजार । कतै “अत्यावश्यक परेको छ”, कतै “आज मात्र हो”, कतै “भोलि नै फिर्ता गर्छु ।” तर त्यो “भोलि” कहिल्यै आएन ।
समय बित्दै गयो । ऋणको सूची बढ्दै गयो । फोन गर्नेहरूको संख्या बढ्यो । सन्देशहरू आउन थाले “बहिनी, मेरो पैसा कहिले दिनुहुन्छ ?” “दिदी, धेरै भयो, अब त फिर्ता गरिदिनुस् ।”
सुमनाले एउटाको कल काटिन् । अर्कोको नम्बर ब्लक गरिन् । केहीलाई नयाँ बहाना सुनाइन् । केहीलाई नयाँ ऋण लिएर पुरानो ऋणको सानो हिस्सा बुझाइन् । फेरि अर्को ऋण थपियो ।
उता, उनको सामाजिक सञ्जाल भने झन् रंगिन हुँदै गयो । कहिले हिमालको काखमा कफी, कहिले पाँचतारे होटलको डिनर, कहिले महँगो उपहारको तस्बिर । पोस्टमुनि टिप्पणी आउँथे “वाह ! जीवन त यस्तो पो हुनुपर्छ ।” “तिमी त साँच्चै सफल छौ । “हामी पनि तिमीजस्तै बन्न पाए !”
यी टिप्पणी पढ्दा सुमना मुस्कुराउँथिन् । तर त्यही बेला उनको अर्को मोबाइलमा ऋण तिर्न आग्रह गर्ने सन्देशको घण्टी बजिरहेको हुन्थ्यो । एक दिन उनी फेरि एउटा भोजको तयारीमा थिइन् । साथीहरूलाई निम्ता गरिसकेकी थिइन् । रेस्टुरेन्ट बुक भइसकेको थियो । तर खातामा पैसा थिएन । उनले पुरानो चिनजानको एकजनालाई फोन गरिन् ।
“दाइ, अलिकति समस्या प¥यो । पच्चीस हजार चाहिएको छ । एक हप्तामै फिर्ता गर्छु ।” उताबाट केही क्षण मौनता छायो । त्यसपछि उत्तर आयो “बहिनी, पैसा त म फेरि पनि दिन्थेँ । तर पहिले दिएको पचास हजार फिर्ता आएको भए विश्वास हुन्थ्यो ।” फोन काटियो ।
त्यस दिन पहिलो पटक उनको हात काँप्यो । उनले सम्पर्क सूची हेर्दै गइन् । लगभग सबै नम्बरहरूमा कुनै न कुनै रकम लेखिएको थियो । कसैको पाँच हजार, कसैको बीस हजार, कसैको एक लाख । उनीसँग प्रशंसकहरू धेरै थिए, तर विश्वास गर्ने मान्छे एक एक गर्दै सकिँदै गएका थिए ।
बाहिरबाट उनको जीवन अझै घिउजस्तै चम्किलो थियो । तर भित्रभित्रै त्यो घिउको स्वाद ऋणको तीतोपनले धेरैअघि नै हराइसकेको थियो । समाजले उनको महँगो उपहार सम्झियो, भोज सम्झियो, रवाफ सम्झियो । तर उनीबाट पैसा नपाएका मानिसहरूले भने एउटा मात्र कुरा सम्झिरहे, विश्वास पनि ऋणजस्तै हुन्छ । एकपटक नतिरेपछि फेरि कसैले सजिलै उधारो दिँदैन ।
चार्वाकले भनेका थिए ऋण गरेर भए पनि घिउ खानू । तर उनले एउटा कुरा भनेका थिएनन्, घिउको स्वाद केही क्षणको हुन्छ, ऋणको भारी वर्षौंसम्म काँधमा बोकिन्छ र सबैभन्दा ठूलो मूल्य पैसाले होइन, गुमेको विश्वासले तिर्नुपर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।