किसान र असार : पदम दाहाल (शिखरिणी छन्द)

किसान र असार : पदम दाहाल (शिखरिणी छन्द)

कपन अनलाइन

काठमाडौं ,साउन ९।

असारै हो आशा ऋतु रमणले रम्दछ कृषि
असारै प्यासो ऊ गगन बदली चुम्दछ खुसी ।
भयो हर्षोल्लास रह दह छ वर्षा भुवनमा
हिलो आली बाँझो तरर पसिना बिल्दछ जहाँ । ।१।

अहो ! खेती बेठी स्थलचर रमाए नभचरी
मिले तारे माले हलधर खुसाए नरहरि ।
उचाली कोदालीश्रमिक पसिना काढ्छ नबसी
युवा बाला वृद्धा सकल खट तोडौँ अवनति । ।२।

भरोसा हो माटो रजगज झुसी खोज्दछ मही
जहाँ रम्छन् सारा कृषि उपज बाली बल भई ।
सबै हर्ताधर्ता जुट मिलनमा सेवक बनी
हुँदै कर्मी मौरी सरह मनुवा रम्नु छ जुनी । ।३।

नदुख्ने होस् वर्षा श्रम सिप सपारोस् पनि धरा
हुनेछन् प्राणीका गुँड मुड उज्याला मनहरा ।
हिलो चर्को हल्ला अभिनय उपल्लो मिलन झैँ
ठिटा अल्लारे छन् तरुण वयका तिर्सन झनै । ।४।

असारे भाकाले चुरूफुरु बढायो नजरमा
नयाँ पाँजो रोपो सुरुबुरु पलायो अधरमा ।
खुसी साटून् मान्छे प्रकृति बन दानी कृति तिमी
फलेका दानाले कृषक विजयी हुन् अझ पनि । ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।