वसियत : धनसिंह विश्व (लघुकथा)
कपन अनलाइन
काठमाडौं, असार २७ ।
बृद्ध आश्रमको चौकीदारले बुढालाई कोठा देखायो। “बुबा, यो तपाईंको बेड, नम्बर ७ !”
बुढाले खल्तीबाट मैलो कागज झिके। चौकीदारको हातमा थमाउँदै भने, “म मरेपछि यो छोरालाई दिनू ।”
केही दिनपछि बुढाको सास रोकियो । चौकीदारले मालिकलाई खबर गर्यो । मालिकले छोरालाई फोन लगायो । “तपाईंको बा बित्नुभयो ।”
भोलिपल्ट रमेश आयो । अनुहारमा हतार थियो ।चौकीदारले दिएको कागज खोल्यो । त्यहाँ लेखिएको थियो, “छोरा ! म ठूलो भएपछि बा–आमालाई बृद्धाश्रम लान्न’ भनेर सानोमा तँलाई कसम खुवाउँथें । तैले खाइनस् । मैले तँलाई ‘ठूलो मान्छे बन’ मात्र सिकाएँछु । असल मान्छे बन्न सिकाउन बिर्सेंछु । मेरो गल्ती दोहो¥याइनस् । तेरो छोरालाई कसम खुवाइस् ।”
रमेशको हातबाट कागज झर्यो । बेड नम्बर ७ खाली थियो । तर कोठाभरि बाको आवाज गुञ्जियो ।
चौकीदार टाढैबाट हेर्दै भन्यो “आज पनि एकजना बाले निर्दयी छोरालाई अन्तिम पाठ पढाए ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
