पञ्जावी : शम्भु प्रकृति (कथा)
कपन अनलाइन
काठमाडौं असार २१।
भारतको भ्रमणमा थिएँ ।२०६४ सालको कुरा हो । नेपालमा धेरै नै तनाव बेहोर्नुपरेपछि मन बहलाउन म पुर्वतिरको यात्रामा निस्किएको थिएँ । कसैलाई थाहा नदिकन चुपचाप । कतिपयलाई पाठ सिकाउन चाहन्थें । कुनैपनि मुल्यमा बिद्रोह गर्ने मेरो स्वभाव नै हो । घरमा र कार्यक्षेत्रमा तनाव बढी भएपछि त्यसलाई चिर्नु जरुरी थियो जसमा म सफल पनि भएँ ठुलो मुल्य चुकाएर ।
११ दिने अज्ञात यात्राको दौरान सर्वप्रथम इलाम
पशुपतिनगर भएर दार्जिलिङ पुगें एकदिन एकरात बसको यात्रा गरेर काठमाडौंको गौशालाबाट । यही दिनदेखि भात खाइएन । अरु नास्ता गरियो । यात्राको सिलसिलामा साथीहरू बने । एकजना दार्जिलिङकै भोटेगाउँका रहेछन् । उनीसँगै ट्याक्सीमा दार्जिलिङ पुगियो पशुपतिनगरमा आइसी साटेर । रातभर राम्ररी नसुतेको म केही समय दार्जिलिङमा सुस्ताएर म सिक्किमको गाडी चढेर उर्लिएको टिस्टाको किनारै किनार केही घण्टामा गान्तोक पुगें । त्यहाँ केहि समय बिताएर फेरि सिलिगुडीको गाडी समातेर लामो यात्रामा मस्त भएँ ।
सिलिगुडीबाट रातको समयमा न्यु जलपाइगुडी रेल्वे स्टेशनसम्म रिक्सा चढेर पुगें । रेल्वेको टिकट काटेर दिल्लीसम्मको म जीवनमा पहिलोपटक रेलयात्रा गर्दै थिएँ । रोमाञ्चक यात्रा थियो कष्टपुर्ण भएपनि । दुई दिनको यात्रामा पुरै नेपाललाई पुर्वबाट पश्चिम् सम्म एक फन्का लाइयो । हरेक स्टेशनमा तीस–चालिस मिनेट रोकिने भएकोले उक्त समयमा म रेलबाट ओर्लिएर नजिकको शहरबजार घुम्नेगर्थें । नेपालको पुर्वी सिमाना चिकेन्स नेक नजिकबाट झन्डै बाङ्लादेशको सिमाना नजीकबाट गुज्रिएको रेल भागलपुर कोशी नदीमाथिको रेल्वे बृज ४५ मिनेट बढी समयमा पार गर्दा नेपालको कोशी ब्यारेजभन्दा निकै लामो लाग्यो । निकै मज्जाको अनुभुति गरियो रेलको ढोकामा उभिएर ।
बाटोमा पटना शहर पनि हेरेँ ठ्याक्कै काठमाडौंजस्तो लाग्यो घरहरू उस्तै । अन्य अन्य स्टेशन हुँदै गण्डकी नदिमाथिको बिशाल पुल र बनारसमा गङ्गा माथिको बिशाल पुलको यात्रा गरेर रेल अगाडि बढ्दै गयो । मेरो जीवनकै रोमाञ्चक यात्रा थियो । बीचबीचमा केही समय निदाएर र सुस्ताएर म अन्त्यमा पुरानो दिल्लीको स्टेशनमा ओर्लन पुगें । पुरानो दिल्ली फोहोरी लाग्यो । त्यताबाट हिंडेर नयाँ दिल्ली पुगें । त्यहाँ सफासुग्घर रहेछ । खाजा खाएर यसो डुल्न निस्केँ । एउटा पार्कमा गएर आराम गरें र सुस्ताँए । दिल्ली निकै गर्मी ठाँउ हुनाले चिसो बरफयुक्त पानी धेरै पल्ट पिउनु प¥यो । एक गिलास पानीको पचास पैसा पथ्र्यो ।
दिल्लीबाट बसको टिकट काटेर देहरादुनतर्फ लागें नाइटबसमा । भारतमा रेल सबैभन्दा सस्तो त्यसपछि बस । कानपुर इलाहवाद हुँदै देहरादुन पुगियो बिहानीपख । रातभर कहिले सुतियो कहिले उठेर बसियो । साथीहरू थिए नयाँ नयाँ । देहरादुनमा ओर्लिएपछि निकैबेर घुमेर लोकल गाडी चढ्दै र पैदल हिड्दै हरिद्वारतिर लागें । पैसाको नितान्त अभाव थियो । एकजना रामदेवको चेला हरिद्वार जाने बाटोमा भेटियो उसको शिष्यसङ्गै । उनीहरू १०० किलोमिटर पैदल आएका । केहीबेर बाटोमा सुस्ताइयो उनीहरूसङ्ग । चिया पनि खाइयो । म अली हिंड्न् नसकेको देखेर गुरुचाहिंले भन्यो – “आँप अटोमे जाइए ।” यसो भनेर उसले मलाई १०० रुपैयाँ आइसी दियो । मैले त्यो समातेर उनीलाई धन्यवाद दिएर अटोमा हरिद्वार पुगें ।
गङ्गाको किनारमा रहेको हरिद्वार निकै सुन्दर देखिन्थ्यो । त्यहीँ एउटा चौरमा छाता ओढेर म दुईतीन घण्टानै निदाइछु । प्राकृतिक निद्रा थियो गङ्गा किनारमा । उठेर यताउता घुम्दै दिन बित्यो । रातमा यसो चियासिया खाइयो सित्तैमा । त्यहाँ निशुल्क दिने रहेछन् । राति एउटा ढुंगाको आसनमा सुतेको थिएँ खुल्लारूपमा । सुन्दर दृश्य थियो गङ्गाको किनारमा । मज्जाले निन्द्रा लाग्यो । बिहान उठेर बाटो लागें लोकल गाडीमा लिफ्ट माग्दै र पैदल हिड्दै दिनभर । साँझतिर एकजना नेपाली भेटिए ।उनको नागरिकता नेपाली रहेछ । उनी परिवारसहित त्यहाँ काम गरेर बस्दा रहेछन् ।उनी मद्द्त गर्न तयार भए । यो ठाँउ नैनीताल र बद्रीनाथको बीच पर्दथ्यो । उनले घर लगे र खाना खान दिए र सुत्न ओछ्यान पनि दिए माथीको तल्लामा । उनले भन्थें – “तपाईं टिचर मान्छे ! अब यतै बस्नुस् । राम्रो कमाइ हुन्छ ।”
म मस्त निन्द्रामा भएकोबेला मध्यरातमा अचानक उठाए । निन्द्रा कच्मचिएकोले म त चिच्याइछु । उठ्दा उनले हिन्दीमा भने– “परदेशी आदमी गाउँमे खामोखा हङ्गामा मचजाएगा ।”
“यैसा कर्ता हुँ, आपेके लिए गाडी ढुढंता हुँ । उसमे बिठाकर आपको आगेके रास्तेके लिए भेजदुङ्गा ।” म त छक्क परें । एक रातपनी उनले आश्रय दिन मानेनन् । किन उनी बदलिए त्यो त थाहा भएन । उनले मध्यरातमा नै लिफ्ट मागेर मलाई चढाइदिए गाडीमा । गाडीले २५ किलोमिटर जति पर बद्रीनाथ जाने बाटोमा मलाई ओरालेर गयो । त्यताबाट दिनभरी हिडेर अलफजगढ पुगें । नजीकको एउटा चौतारीमा सुतेको थिएँ एकजना मानिसले उठाएर भन्यो – “यहाँपर क्यों सोए हो ? साँप काटलेगा या तुम्हे पुलिस पकडके ले जाएगी । किसी होटेल या लजमे जाकर ठहेरो ।”
म यसो अगाडि हिंड्दै थिएँ । दुईजना पञ्जावीहरूसङ्ग भेट भयो लज नजीकमा । उनीहरूले सोधे –“कहाँ से आये हो ? यहाँ कैसे ।” मैले भने –“नेपालसे घुम्ने आया था । अभी बेखर्ची होकर भटक रहा हुँ । “ मेरो थकित अनुहार देखेर उनीहरूलाई दया लागेछ । उनीहरूले भने –“मै नेपाल गया हुँ । नेपालियोंको जानता हुँ । वो लोग अच्छे होते हैं ।” उनीहरूले मलाई नजिकै होटेलमा लगे र भने – “कुछ देर लेट जाओ । फिर खाना खा लेना ।” म एकछिन सुतेर उठेपछि फेरि उनीहरूले सोधे– “क्या खाओगे ?” मैले भने –“पहेले मै ठण्डा पिउङ्गा । उसके वाद फ्राइड राइस ।” उनीहरूले मलाई टन्न खुवाए । बिहान उठेपछि उनीहरू दुईजना र होटेलको साहु भएर मलाई बसमा चढाएर २०० आइसी दिए र ड्राइभरलाई भने – “इने नेपाल बर्डरपर उतारदेना बनवासा ।”
चार पाँच घण्टाको यात्रापछि म बनवासा होइन टनकपुरमा नै ओर्लिएँ र भनें – “मेरे पास पैसे नही हैं ।” उनीहरूले भनें – “कोही बात नही । मगर सौ रुपैयें तो देना हि पडेगा ।” मैले सय रुपैयाँ आइसी उनीहरूलाई दिएँ पञ्जावीहरूले दिएको । त्यहाँबाट टनकपुर ब्याारेज पुगें र एकजना ब्यारेजको स्टाफसङ्ग सोधें – “महेन्द्रनगरका रास्ता किदर से है ?” उनले भने – “ब्यारेज क्रस करो । फिर ब्रम्हदेब आता है । उहाँ नेपाली बजार है । तुम अपने भाषा जानते हो न ।उसीमे उनसे पुछना वो लोग तुम्हे महेन्द्रनगर जानेका रास्ता बता देङ्गे ।” मैले उनले भने बमोजिम ब्यारेज पार गरें । बास्तबमा ब्यारेज नेपाली सिमामै भएपनि ब्यारेज पारी मात्र नेपाली बस्ती ब्रम्हदेब गा.बि.स. रहेको रहेछ । पारीपट्टि पुगेपछि महाकालीको मुहानबाट आएको पानीमा नुहाएँ । त्यसपछि अगाडि बढ्दा ब्रम्हदेब बजार भेटियो । एकछिन सुस्ताएर यसो चियासिया खाएपछि महेन्द्रनगर जानेबाटोको बारेमा सोधपुछ गर्दा मानिसहरूले भने– “महेन्द्रनगर जान पहिला ७ किलोमीटर पर गड्डाचौकी पुग्नुपर्छ नजिकैको प्रहरीचौकी । त्यहीँबाट टाँगा, रिक्सा, अटो जे पाइन्छ त्यसमा चढेर महेन्द्रनगर पुग्न सकिन्छ ।”
बाटो थाहा भएपछि म पैदल हिंड्दै अगाडि बढें । नेपाल र भारतको सिमास्तम्भ जङ्गे पिलर पछ्याउँदै बाटोभरिनै । खासमा महाकाली पारी सम्पुर्ण नेपाली जमीन हुनुपर्नेमा निकै पर सिमास्तम्भ गाडेर भारतले थुप्रै भुमि मिचेको रहेछ । स्थानीयसङ्ग कुरा गर्दै बाटो सोध्दै जाँदा उनीहरूको जवाफ हुन्थ्यो– “पहिला महाकाली यहीँ नजीकबाट बग्थ्यो भने अहिले परबाट बग्छ । भारतले यहीँबाट सिमास्तभ गाडेको छ ।” हिंड्दै डुल्दै नेपाल– भारतबीचको सिमा पछ्याउँदै म दिउँसो गड्डाचौकी पुगें । खासमा बनबासा ओर्लिएको भए त्यहीँबाट महाकाली पुल क्रस गरेर महेन्द्रनगर टाँगा, रिक्सा, अटो आदि जेमा चढेर महेन्द्रनगर पुग्न सक्ने रहेछ जुन मलाई पञ्जावीहरूले ठिक मार्गदर्शन गरेका थिए । बाटो फरक भएपनि नेपालकै सिमानाको बारेमा प्रत्यक्ष जानकारी हासिल गर्नु चानचुने कुरा थिएन । संघर्षले नै मानिसलाई सब कुरा सिकाउने हो । म ती पञ्जावीहरूप्रति आजीवन कृतज्ञ र ऋणी छु । नेपाल र नेपालीलाई उनीहरूले ठुलो गुन लगाएका छन् किनभने उनीहरूसङ्ग नेपाल र नेपालीहरूको जनस्तरमा राम्रो सम्बन्ध छ । मलाई सुरक्षित नेपाल फर्किन उनीहरूले ठुलो सहायता गरे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
