फुलेको केश : अन्जु शर्मा ( लघुकथा)
कपन अनलाइन
काठमाडौं असार २१।
“धत्, तँ कस्तो निराशावादी !” एउटाले नमीठो संका गर्यो ।
“के को निराशावादी हुनु नि ! लोभले मुन्टेको । बरू मै कालो कलर किन्दिन्छु ।” अर्कोले झटारो हान्यो ।
“यार साच्चिकै बूढो देखिइस् ।” पूनः अर्कोले चिन्ता थप्यो ।
मैले ऐना हेरें । चन्द्रमा जतिकै चम्किला सेता कपाल ।मन नराम्ररी कुढिंयो । “साच्चै बूढो पो भइएछ !” मैले आफैंलाई प्रश्न गरें । “के मेरो सक्रिय जीवन सकिएको हो त ? अह ! यस्तो परिवर्तनशील समयमा म पनि त परिवर्तन हुनुपर्छ ।” मैले कालो रङ किनेर कपाल रङ्गाउने निर्णय गरें ।
भान्सामा चिया पकाउदै गरेकी मेरी श्रीमतीले मेरो छट्पटीलाई नियालिरहेकी रहिछन् । फ्याट्ट बोलीहालिन् “हैन, हजुरलाई के भयो ? किन टोलाउनुभएको ?”
“म ऐना अगाडि उभिएर, सेतो कपाल देखाउदै” हेर त, म निकै बूढो देखिएछु नि ! आजै कालो रङ किनेर कपाल रङ्गाइहाल्छु ।”
उनले मलाई हेरेर मुसुक्क मुस्काउदै भनिन् “यो हजुरको बुढ्यौली हुँदै होइन । हजुरले भोगेको जीवनको अनुभव र बौद्धिकता चम्केको हो । यसलाई लुकाउने भन्दा देखाउनेमा गर्व ठान्नुस् ।
श्रीमतीको कुराले म पूनः ऐना अगाडि उभिएं । फूलेका केशरासीले त मलाई कदरपत्र जस्तै गर्विलो बनायो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
