आमा : त्रिलोचन आचार्य (कविता)

आमा : त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाडौं असार २०।

आमा हेर्दा अति चहकिली दिव्य आकाशजस्ती
आमा बुझ्दा किन किन उनै स्वच्छ बैशाखजस्ती
आमा बोल्दा लय अति मिठो स्नेहको गीतजस्ती
आमा सुन्दा हरपल सुनौँ लाग्छ, संगीतजस्ती

आमा नै हुन् सकल घरकी पूर्ण आवाजजस्ती
आम लाग्छिन् सहज र उनै पूर्ण आकारजस्ती
राम्रो बाली लहलह उनै खेतको धानजस्ती
हेरौँ सारा रनवन उनै रम्य उद्यानजस्ती

आमा लाग्छिन् अनुपम कलाकारजस्ती कलामा
आमा तारा सरह सुकिली हारजस्ती गलामा
लाग्छिन् आमा हर प्रहरमा दिव्य माधुर्यजस्ती
इन्द्रेनीझैँ छलछल स्वयं स्वच्छ सौन्दर्यजस्ती

आमा मेरी पढिनसकिने त्यागको पाठजस्ती
छुट्टै चोखो लय र सुुरकी सिर्जना फाँटजस्ती
आस्थाका छन् लहर उनमा लाग्छ हुन् खासजस्ती
मानौँ मीठो कृति प्रकृतिको भेटिने बासजस्ती

आमा यौटा लहर झरना तालकी रंगजस्ती
रोप्ने आशा रमझम स्वयं सृष्टिको ढंगजस्ती
आफ्नै नानीसँग चहकिँदै देखिने दंगजस्ती
आमा हिँड्ने असल पथमा दिव्य सत्संगजस्ती

तस्मात् आमा भनन कसरी सिर्जना यो बचायौ
त्यागी बन्दै भनन कसरी श्रेष्ठता छर्न भ्यायौ
आमा सारा मन र मुटुकी रम्य संसारजस्ती
आमा नै छन् सकल जगकी पूर्ण आकारजस्ती ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।