भोलिको वार्ता परिणामुखी बनाउन अध्यक्ष दाहालको पहल
काठमाडौँ, १ मङ्सिर । तराई मधेसमा आन्दोलनरत मधेसवादी दलसँग बुधबार निर्णायक वार्ता गर्ने तयारी गरिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसवादी दलसँग अनौपचारिक छलफलपछि आएका विचार र भावनालाई समेटेर भोलि निर्णायक वार्ता गर्ने तयारी गरिएको हो ।
सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले आज पनि अनौपचारिक परामर्श गर्नुभएको छ ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरुमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले आज पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गर्नुभएको बताइएको छ ।
‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्, समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ’’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भन्नुभयो ।
सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपछि उहाँले सक्रियता बढाउनुभएको हो ।