बुढानिलकण्ठ मन्दिर वरपर निर्वाध मासु र मदिरा विक्री : नगरपालिका मौन,के भन्छ कानुन ?
कपन अनलाइन
काठमाडौं , बैशाख ८ ।
शिवपुरी पर्वत शृंखलाको बुढानिलकण्ठ मन्दिर विस्वका हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रुपमा रहेको छ।
निकै पावन र प्राग ऐतिहासिक महत्व बोकेको यस मन्दिर आसपास निर्वाध रुपमा मदिरा र मासुको विक्री वितरण भैरहेको अवस्थालाई भने धर्मालम्बीहरुले निकै असहज र गैर आध्यात्मिक गतीविधि भन्दै चित्त दुखाउने गरेका छन।
नारायण भगवानको मन्दिर क्षेत्रमा यसरि भैरहेको गैर धार्मिक कामको कुनै पनि सरोकारवाला निकायबाट कुनै चासो र चिन्ता ब्यक्त नहुदा अहिले नागरिकहरु संगठित हुदै त्यसको विरोध गर्ने तयारीमा रहेका छन।
यो पवित्र क्षेत्र वरपर खुलेआम मासु र मदिरा पसल सञ्चालन भइरहँदा सरोकारवाला निकायको मौनता झनै शंकास्पद बन्दै गएको छ भने स्थानीयहरु कानून छ, तर लागू गर्ने इच्छाशक्ति कहाँ हरायो? भन्दै नगरपालिका र सरकारलाई प्रश्न गरिरहेका छन।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र व्यापार नियमन गर्ने, निषेधित क्षेत्र तोक्ने र अनुगमन गर्ने पूर्ण अधिकार दिएको छ। त्यस्तै मदिरा ऐन २०३१ ले सार्वजनिक हित, शान्ति र सामाजिक मर्यादा कायम राख्न मदिरा बिक्री–वितरणमा आवश्यक नियन्त्रण गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। तर व्यवहारमा भने यी प्रावधानहरू कानूनको पुस्तकमा मात्रै सिमित बनेका छन।
दर्जनौ पटक सोहि मन्दिर परिसरमा पुगेर निकै चर्को भाषण गर्ने स्थानीय जनप्रतिनिधिहरुले अहिलेसम्म यस विषयमा कुनै मंचमा बोलेको सुनिएको छिन भन्दै स्थानीयहरु बुढानिलकण्ठ नगरपालिकाले चाहेमा मन्दिर वरपर ‘नो–लिकर’ वा ‘नो–मीट’ क्षेत्र घोषणा गर्न सक्ने बताउछन।
नगरपालिकामा बेला बेलामा अनुगमन भन्दै फोटो खिचाउने मेला चलेको देखेको भन्दै एक स्थानीय इजाजतविना सञ्चालित पसल तत्काल बन्द गराउन सक्ने र नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गर्न सक्ने अधिकार भए पनि कुन जादुले मौन बनाएको होला भन्दै प्रश्न गर्छन ?
वर्षौँदेखि निर्वाध चलिरहेकापसलहरूको अनुगमन कमजोर कि मिलेमतो बलियो? भन्ने शंका उठ्नु स्वाभाविक रहेको भन्दै एक समाजसेवीले निम्न माग राखेका छन :
१.मन्दिर परिसर वरपर तुरुन्तै मसि र मदिरा निषेधित क्षेत्र घोषणा गरियोस्।
२.इजाजतविना सञ्चालित पसलहरू तत्काल बन्द गरियोस्।
३.दोषीलाई जरिवाना र कानुनी कारबाही गरियोस्।
४.नियमित अनुगमन संयन्त्र सक्रिय बनाइयोस्।
बुढानिलकण्ठ मन्दिर जस्तो आस्थाको केन्द्रमा कानूनको खिल्ली उडिरहँदा चुप लाग्नु भनेको उल्लंघनलाई वैधता दिनु हो भन्दै उनले अब कानून लागू गर्ने कि उल्लंघनलाई संरक्षण गर्ने? यो जटिल प्रश्न रहेको धारणा राखेका छन ।
