रङ्गभेदभित्र पसेपछि : अरुणबहादुर खत्री ‘नदी’ ( कृति समीक्षा)

रङ्गभेदभित्र पसेपछि :  अरुणबहादुर खत्री ‘नदी’ ( कृति समीक्षा)

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।

लघुकथाकार महेन्द्र चालिसेको रङ्गभेद नामक लघुकथासङ््ग्रह २०८२ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका मौलाएको साहित्य, तनाव, किर्ना र सरकार, मौन, पञ्चायती भूत, आयातीत संस्कृति लगायत विभिन्न शीर्षकका ६५ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६५ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्् । यस सङ्ग्रहभित्रको मौलाएको साहित्य शीर्षकको पहिलो लघुकथामा साहित्य किताबमै मात्र सीमित हुँदैन । समाज नै यसको खुला पाना हो । लेखेर पनि पढ्न सकिन्छ देखेर पनि बुझ्न सकिन्छ भनिएको छ ।
साहित्यका धेरै विधामा आफ्नो उपस्थिति जनाइसकेको चालिसेको यो लघुकथासङ्ग्रह निकै नै राम्रो पढ्न मन लाग्दो किसिमको छ । तनाव शीर्षकको लघुकथामा छिमेकीको घरबाट ठुलो स्वरमा बजेको गीत रमेशको कानमा ठोक्किन्छ । रमेशलाई गीत बज्दा निद्रा लाग्दैन । किर्ना र सरकार शीर्षकको लघुकथामा किर्ना र हाम्रो देशको सरकार त समान छ रे नि भनेर कतैबाट आवाज आउँदछ । अधिकांश लघुकथाहरूमा उनले व्यङ्ग्यलाई हतियार बनाएर हरेक तप्का र तहमा जरो गाडेको आडम्बरी प्रवृत्तिलाई उदाङ्गो पारेका छन् । लघुकथामा पलाएका छोटो कथा र चुट्किलारुपी ऐजेरुलाई उनले मिहिनेतपूर्वक गोडमेल गरेका छन् ।
यस सङ्ग्रहभित्रको मौन शीर्षकको लघुकथा सबैभन्दा छोटा छ र यस लघुकथामा हिरानाथ काका आज दङ्ग थिए । ठुला मान्छेहरूको भोजबाट फर्किएका थिए भनिएको छ । आयातीत संस्कृति शीर्षकको लघुकथामा उसले शिवरात्रिको धुनीको आगोको राप र धूप गमगाएको साँझ सम्झिन्छ । उसलाई प्यारो लाग्थ्यो फागुपूर्णिमाको रङ्गसँगैको हाँसोको उद्माद, जनैपूर्णिमाको जनैसँगको आत्मीय स्पर्श, यमरीपूर्णिमाको मिठास, घोडेजात्राको रौनक, इन्द्रजात्राको जीवित देवी कुमारीको मुस्कान गाईजात्राको व्यङ्ग्य भनिएको छ ।
मन्त्रीको गाडी शीर्षकको लघुकथामा ऊ मुस्कुरायो । आँखामा अलिकति रिस र अलिकति व्यङ्ग्य थियो । उसले सोध्यो किन र मन्त्री भनेको अफ्रिकाको जङ्गलबाट आएको जङ्गली जनावर हो ? उसलाई नियम लाग्दैन ? भनिएको छ । ब्रिफकेस शीर्षकको लघुकथामा इमानदार भनेका दुई किसिमका हुन्छन् खरिदारले भन्यो एक ब्रिफकेस नपुग्दासम्म इमानदार हुने । अर्को ब्रिफकेस छुदै नछुने भनेर कथाकारले लेखेका छन् ।
नियत शीर्षकको लघुकथामा के हुनु बाबु उतापट्टिकाले वरलाई सरकारी जागिरे बनाउनुपर्ने र एउटा भट्भटे पाउने भए सम्बन्ध जोड्ने रे नत्र त नाइ रे सुस्केरा हाल्दै साइँलाबाले भने भनेर लेखिएको छ । पुर्पुरोमा हात शीर्षकको लघुकथामा छेउकै बेन्चमा बसेका एक अपरिचित युवा मोबाइल स्क्रोल गर्दै थिए । बुढाको कुरा सुनेर मुस्कुराए । अनि हिसाब निकाल्दै बोलिहाले हैन बा तपाईले अलि कमै आँक्नुभयो भनेर चालिसेले लेखेका छन् । जेन–जी मन्त्री शीर्षकको लघुकथामा आन्दोलन भन्नासाथ शान्तिपूर्ण हुन्छ र ? किनकि त्यहाँ भिड हुन्छ भिड जहिले पनि अनियन्त्रित हुन्छ । अनि त्यहाँ विभिन्न विचार समूहका मान्छेहरू छिरेका हुन्छन् भनिएको छ ।
उनले लघुकथामा सामाजिक विसङ्गति, असङ्गति, राजनीतिक चोटिलो सिर्जना गरेका छन् । उनले लेखेका लघुकथा छोटा र सटिक छन् । न्यूनतम आख्यानमा जेलिएका छन् । पात्र न्यूनतम छन् । काका कसको ? शीर्षकको लघुकथामा हामी सात–आठ वर्षका थियौ । जाडोको घाम ताप्दै बुबासँगै पुरानो घरको पिढीमा बसेका भनिएको छ । भ्रष्टाचार शीर्षकको लघुकथामा ऊ भ्रष्टाचारको सधैँ बिरोध गर्छ र गर्नु पनि पर्छ । तर.. तर भनिएको छ ।
यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार चालिसेले मनन गरेका छन् । विषय छनोट कथाकारको महत्वपूर्ण परीक्षणको क्षेत्र हो । कथाकारले आजको पाठकको भोकतिर्खा मेट्न सक्ने विषय छनोट गर्न सक्यो कि सकेन त्यो महत्वपूर्ण पाटो होे । यस सङ्ग्रहभित्रका कथाको शीर्षकहरूबाट नै कतिपय कथा व्यक्तिको चरित्र वा स्वभावसँग सम्बन्धित छन भन्ने स्पष्ट देखिन्छ । कतिपय शीर्षकले घटना, कतिले समस्या, कतिपयले जीवनानुभव र कतिपयले अवस्थाको सङ्केत गरेका छन् । यस कृतिभित्रका कथामा पनि व्यक्तिगत स्वभाव, सामाजिक परिघटनाहरू र प्रवृत्तिहरूकै चित्रण भएकाले कथाकार चालिसे शीर्षक चयन वा कथाको नामकरण गर्नमा खप्पिस छन् ।
सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार चालिसेको अन्य कृतिहरू पनि प्रकाशित भएर हामीहरूले पढ््न पाउने बाचा गरेको छु ।
लेखकः महेन्द्र चालिसे
प्रकाशकः निबन्ध आचार्य कपन बानेश्वर साहित्यिक साप्ताहिक
संस्करणः प्रथम, वि.सं. २०८२
मूूल्यः रु.३००।–
पृष्ठः १३६

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।