वार्ताबाट समस्याको समाधान गर्न सरकार तयार – प्रम ओली

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गर्नुभएकोे छ ।

मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले जारी वार्तालाई सार्थक निष्कर्षमा पु¥याउन वार्ता र सम्वादका माध्यमबाट अगाडि बढ्न आन्दोलनरत पक्षलाई आह्वान गर्नुभयो ।

संविधान गतिशील दस्तावेज भएकाले सुधार र विकास गर्न सकिने थुप्रै आधारहरु रहेका छन् भन्दै प्रधानमन्त्री ओलीले जायज माग र जनताको भावनाअनुसार अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

विगतका क्रान्ति र जनआन्दोलनका उपलब्धि नयाँ संविधानले संस्थागत गरेको अन्तरवस्तुका हिसाबले नेपालको संविधान अन्तर्राष्ट्रियस्तरमा समेत उल्लेखनीय र लोकतान्त्रिक भएको उहाँले बताउनुभयो ।

शान्ति प्रक्रिया पूरा भएको, एक दशक लामो सङ्क्रमणकाल अन्त्य भएको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “नयाँ संविधानले सबै नेपालीका लागि समान अवसर प्रत्याभूत गरेको छ, सबै जाति, भाषा, लिङ्ग र क्षेत्रको अधिकार सुनिश्चित गरेको छ ।”

संविधान जारी गर्दा अमानवीय नाकाबन्दी बेहोर्नुपर्ला भन्ने आफूलाई नलागेको स्पष्ट पार्दै उहाँले विगत डेढ महिनादेखि अकल्पनीय पीडा बेहोर्न बाध्य भए पनि नेपाली जनताले देखाएको सुझबुझप्रति प्रधानमन्त्रीले आभार प्रकट गर्नुभयो ।

युद्धका बेलासमेत नदेखिने सङ्कट भोग्नु परेको भन्दै उहाँले मानवीय सम्वेदना भएका जोकोहीले पनि अघोषित नाकावन्दीको सहजै अनुमान गर्नसक्ने स्पष्ट पार्नुभयो ।

तपाइँको प्रतिक्रिया ।