व्रतबन्ध : ढाकामोहन बराल ( लघुकथा)

व्रतबन्ध : ढाकामोहन बराल ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

“ल यो सधैं लगाउनु पर्छ ।” टिकारामले भन्नु भयो ।
“सधैँ?” उसले प्रश्न गर्यो ।
“हो सधैं, अब कहिले पनि नफाल्नु ।” टिकारामले थप जोड दिनु भयो ।
घर निम्तालुहरुले भरिभराउ थियो । ध्वजापतकाले जग्गे सजिएको थियो । पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे । आमा, काकी, माइजू र फुपूहरुको भित्र बाहिर चहल पहल थियो । निम्तालुहरु व्रतबन्ध गरिने बटुकलाई भिक्षा दिन चामल र मस्यौराको पोको लिएर समयको प्रतीक्षामा थिए । पण्डित भएर आउनु भएका टिकारामजी बटुकलाई जनै धारण गर्न सिकाउँदै हुनुहुन्थ्यो । बटुकको लागि आजका सबै दृश्य नौला थिए ।
“गुरु यो पुरानो भए पछि के गर्ने?” उसले आफूलाई लगाउन दिएको जनै देखाउँदै सोध्यो ।
उसको बालसुलभ प्रश्न सुनेर सबै हाँसे ।
टिकारामले भन्नु भयो “पुरानो भयो, चुँडियो भने मामुसँग मागेर अर्को लगाउनु पर्छ । अब व्रतबन्ध भए पछि छोड्नु भएन ।”
उसले यताउती हेर्यो । आफ्नो बाउलाई देखेपछि टिकाराम तर्फ हेर्दै भन्यो “गुरु हाम्रो ड्याडीको पनि व्रतबन्ध गरैदिउँ न उहाँको त जनै नै छैन।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।