काठमाडौं-४ का लागि सचिन तिमिल्सिनाको ५ वर्षे कार्यकालका लागि ‘१० नतिजा’ सार्वजनिक

काठमाडौं-४ का लागि सचिन तिमिल्सिनाको ५ वर्षे कार्यकालका लागि ‘१० नतिजा’ सार्वजनिक

कपन अनलाइन

काठमाण्डौ ,फागुन १०।

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सचिन तिमिल्सिनाले आफ्नो ५ वर्षे कार्यकालका लागि ‘१० नतिजा’ को स्पष्ट मार्गचित्र सार्वजनिक गरेका छन् । आज मैतीदेवी मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रममा मार्गचित्र सार्वजनिक गर्दै उनले राजनीति भनेको नागरिकको क्षमता विस्तार गर्ने र समान अवसरको पहुँच सुनिश्चित गर्ने माध्यम भएका बताएका छन् । कामनपा र बुढानीलकण्ठका वडाहरूलाई भिन्नभिन्नरूपमा सम्बोधन गर्दै तयार पारिएको प्रतिज्ञापत्रमा १०-१० बुँदामा सम्बोधन गरिएको छ ।

सुशासन र भ्रष्टाचार नियन्त्रणको संकल्प

सचिनको पहिलो प्राथमिकता राज्यका संयन्त्र र नागरिकबीच शक्ति सन्तुलन कायम गर्नु हो । उनले अनावश्यक तजबिजी अधिकार कटौती गर्ने कानुन निर्माण गर्ने र सरकारी सेवालाई ‘डिजिटल र फेसलेस’ बनाउने प्रतिज्ञा गरेका छन् । उनी प्रत्येक वर्ष आफ्नो कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरी जवाफदेहिताको सुरुवात आफैंबाट गर्ने बताउँछन् ।

एकीकृत पूर्वाधार र ट्राफिक व्यवस्थापन

काठमाडौंको ट्राफिक र सडक समस्या हल गर्न उहाँले ‘पूर्वाधार समन्वय ऐन’ को पैरवी गर्ने लक्ष्य राखेका छन् । विशेष गरी बुढानीलकण्ठ र कपन क्षेत्रको डुबान समस्या समाधानका लागि एकीकृत पूर्वाधार योजनामार्फत ५ वर्षभित्रै ठोस नतिजा निकाल्ने उनको योजना छ ।

शिक्षा र स्वास्थ्यमा आमूल सुधार

उनले स्वास्थ्यलाई ‘बीमामा आधारित एकीकृत स्वास्थ्य प्रणाली’ मार्फत औषधि र उपचारमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिज्ञा गरेका छन् । विद्यालयहरूमा ‘स्कूल हेल्थ एम्बेस्डर’ कार्यक्रम र बालबालिकाको मानसिक स्वास्थ्यका लागि विशेष पहल गरिने उनको घोषणापत्रमा उल्लेख छ ।

डिजिटल क्रान्ति र युवा स्टार्टअप

नेपाललाई ‘डिजिटल नोम्याड’ गन्तव्यका रूपमा विकास गर्ने र पुराना कानुनहरू खारेज गरी नयाँ साइबर सुरक्षा तथा ई-कमर्स ऐन ल्याउने उनको सोच छ । उद्यमीहरूलाई प्रक्रियागत झन्झटबाट मुक्त गर्न ‘रेगुलेटरी स्यान्डबक्स’ को कानुनी व्यवस्था गर्ने उनको योजना रहेको छ ।

सामाजिक न्याय र समावेशीता

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता, अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक प्रतिनिधित्व र ‘पिंक ट्याक्स’ जस्ता विभेदकारी कर प्रणालीको अन्त्य उनका प्रमुख नीतिगत प्राथमिकता हुन् ।

नागरिकसँग प्रत्यक्ष संवाद: सांसदको कार्यालय

निर्वाचन जितेपछि हराउने परम्पराको अन्त्य गर्दै उनले काठमाडौं क्षेत्र नं. ४ मा आधुनिक र प्रविधिमैत्री ‘सांसदको कार्यालय’ स्थापना गर्ने प्रतिज्ञा गरेका छन्  । यस कार्यालयमार्फत हरेक ६ महिनामा आफ्नो कामको हिसाब बुझाउने र नागरिकसँग प्रत्यक्ष संवाद (Town Hall Meeting) गर्ने उहाँको प्रतिबद्धता छ ।

उपत्यकाका लागि साझा दृष्टि

काठमाडौं उपत्यकालाई एउटै भौगोलिक र सांस्कृतिक एकाइका रूपमा विकास गर्न उहाँले ‘उपत्यका रणनीतिक प्राधिकरण’ को पुनःसंरचना, साझा यातायात सञ्जाल र प्रदूषणमुक्त ‘ग्रेटर हेरिटेज सर्किट’ निर्माणको प्रस्ताव अघि सारेका छन्  ।

सचिन तिमिल्सिनाको अन्तिम संकल्प एउटै छ— “आर्थिक क्षमताअनुसार बजार, सामाजिक अवस्थाअनुसार राज्यको संरक्षण र सबै नागरिकको स्वतन्त्रताको रक्षा भएको नेपाल” ।

 

तपाइँको प्रतिक्रिया ।