बालसाहित्य एक जानकारी : सुशील आचार्य

बालसाहित्य एक जानकारी : सुशील आचार्य

कपन अनलाइन

काठमाण्डौ,फगुन २।
साहित्य भनेको के हो ?
सर्जकलाई आफ्नो मनमा लागेको कुरा अर्थात मनको भावलाई विभिन्न विधाका तरिकाहरु मार्फत् रोचक तथा घोचक ढङ्गबाट व्यक्त गर्ने माध्यमलाई साहित्य भनिन्छ । साहित्य सिर्जना गर्ने मानिसलाई साहित्यकार भनिन्छ । साहित्यकारले कथा, कविता, गीत, मुक्तक, निबन्ध, नाटक, सुसेली, गजल आदिजस्ता साहित्यका विधाहरुको सिर्जना गर्दछन् ।
बालसाहित्य भनेको के हो ?
बालसाहित्य भनेको बालबालिकाको मनोभावनालाई बुझेर, देखेर वा भोगेर साथै आफैले सिर्जना गरेको वा अरु कुनै ठूलो वा साना मानिसले रचना गरेका बालबालिकाका साथै सबै पाठकलाई पढ्न मन लगाउने, पढ्न मौका दिने र पढेर ज्ञान दिने साहित्यलाई बालसाहित्य भनिन्छ । बालसाहित्य सिर्जना गर्ने मानिसलाई बालसाहित्यकार भनिन्छ । उनीहरुले आफ्नो रुचीअनुसार विभिन्न विधाका बालसाहित्य रचना गर्ने गर्दछन् । जस्तोः बालकथा, बालकविता, बालमुक्तक, बालगीत, बालनाटक, बालसुसेली, बालनिबन्ध आदि ।
बालसाहित्य कस्तो हुन्छ ?
१) बालबालिकालाई पढ्न मन लाग्ने हुन्छ ।
२) बालबालिकाले बुझ्ने गरी सरल भाषामा लेखिएको हुन्छ ।
३) छोटो छोटो र रमाइलो लाग्ने हुन्छ ।
४) त्यो बालसाहित्य पढेर बालबालिकालाई आफूलाई पनि केही न केही गरौँ गरौँ लाग्ने प्रेरक हुन्छ अर्थात् शिक्षाप्रद, उत्प्रेरणामूलक तथा ज्ञानवद्र्धक हुन्छ ।
५) बालबालिकालाई सिर्जनशील बनाउने प्रवृत्तिका हुन्छ ।
कस्तो बालबालिकाले बालसाहित्यमा रुची राख्छन् ?
१) मैले पनि आफ्नो नाम कमाउन केही न केही त गर्न सक्छु भन्ने बालबालिका ।
२) अरुको नक्कल गर्न सक्ने बालबालिका ।
३) सकारात्मक तथा नकारात्मक सोच राखिरहने बालबालिका ।
४) आफूले समाज तथा परिवारमा देखेका तथा देखिन सक्ने कुरालाई हेक्का राख्न सक्ने बालबालिका ।
५) आफू पनि रमाइलो गर्ने र अरुलाई पनि रमाइलो गर्न लगाउने कार्य गर्न सक्ने बालबालिका ।
६) अरुबाट उत्प्रेरणा पाउने बालबालिका ।
७) परिवार तथा समुदायको सम्पर्कमा रही आआफ्नो रुचीका विधामा लागिरहने बालबालिका ।
बालसाहित्य किन पढ्ने ?
१) समयको सदुपयोग गर्न ।
२) बालसाहित्यका विभिन्न विधाहरुमा जानकारी राख्न ।
३) सामाजिक समस्या तथा विकासका कुराहरुको जानकारी लिन ।
४) बालसाहित्य सिर्जनाका लागि आवश्यक जानकारी लिन ।
५) कसरी गुणस्तरीय बालसाहित्य सिर्जना गर्न सकिन्छ सोको बारेमा ज्ञान हासिल गर्न ।
६) आफूलाई पठनपाठनमा रुची राख्ने बालबालिका बनाउन ।
७) सामाजिक घटनाका बारे सचेत हुन ।
८) मनोरञ्जन गर्न ।
बालसाहित्य कसरी सिर्जना गर्ने ?
बालसाहित्यमा चासो राख्ने जोसुकै व्यक्तिले पनि बालसाहित्यको सिर्जना गर्न
सक्दछन् । तर यसका लागि बालसाहित्य लेख्ने मानिसले बालबालिकाको मनोभाव बुझेको हुनुपर्दछ साथै बालसाहित्य सिर्जनाको तालिम लिएको, बालसाहित्य लेख्न अग्रसर हुने गरेको भए अति उत्तम हुन्छ भने उसले कस्ता कस्ता बालसाहित्यका सामग्री बालबालिकालाई मन पर्दछ भनेर मनन समेत गर्ने गरेको हुनुपर्दछ, त्यसैले बालसाहित्य सिर्जना गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्दछः
१) के विषयमा बालसाहित्य लेख्ने त्यसको सोच बनाउने ।
२) विषयवस्तुमा के कस्ता कथन राख्ने त्यसको लागि स्रोत पत्ता लगाउने ।
३) त्यसबारे विस्तृत अध्ययन गर्ने ।
४) अध्ययन गरेका सामग्रीको विश्लेषण गर्ने ।
५) आफ्नो विचार राख्नका लागि बुँदाहरु टिप्दै जाने र टिपेका बुँदाहरुलाई मिलाएर लेख्दै जाने ।
६) आफूलाई मनपर्ने विधा कुन हो र कुन विधामा लेख्न लागेको हो सो विधामा लेख्न आफू तयार रहने ।
७) बालसाहित्य लेख्न सुरु गर्ने ।
८) लेखिसकेपछि मिले नमिलेको हेर्ने ।
९) नमिलेको ठाउँमा मिलाउने ।
१०) बालसाहित्यको विधा तयार गर्ने ।
११) शीर्षक राख्ने, शीर्षक आफै वा साहित्यमा रुची राख्ने मानिसलाई पनि सोधेर राख्न सकिन्छ ।
१२) बालसाहित्यमा रुची राख्ने मानिसलाई देखाउने वा सुनाउने ।
१३) पृष्ठपोषण लिने ।
१४) मिलेको छ भन्ने कुरा आएपछि वा मिलाउने सुझाव आएपछि मिलाएर सो बालसाहित्यलाई पूर्ण रुप दिएर नोटबुकमा सार्ने वा सुरक्षित राख्ने अनि अवसर मिलेको ठाउँमा सुनाउने ।
१५) प्रकाशन गर्न मन लागेको भए प्रकाशनगृहमा पठाउने ।
१६) प्रकाशित सामग्रीलाई सुरक्षितसाथ राखेर र अरुलाई पनि देखाउने ।
१७) बालसाहित्यमा निरन्तर लागिरहने यसका लागि अभ्यास गरिरहने ।

 

तपाइँको प्रतिक्रिया ।