पर्खाइको फल मिठो : होम सुवेदी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ २७।
बालिका निना सानैदेखि जिज्ञासु थिई । उसको हरेक बिहान घरको आँगन सफा गर्ने रुटिन थियो । अनि करसाको बिरुवामा पानी हाल्ने पनि । साथीहरूले खेल्न बोलाउँदा पनि ऊ काम सकेर मात्र जान्थी ।
एक दिन आमालाई सोधी “सधैँ पानी हालेर पनि किन फूल फुलेन ममी ?”
“पर्खनुपर्छ । समय बित्दै जाँदा बिरुवा बढ्छ र एक दिन सुन्दर फुल्छ ।”
आमाले सम्झाइन् । ऊ चूप लागी ।
स्कुलको छुट्टीमा दस दिन माओल गएर फर्कँदा निनाका आँखा कोपिला लागिरहेका फूलमा परे । उसको अनुहार उज्यालियो ।
आमाले धैर्य गरेर पर्खनुपर्छ भनेको कुराको अर्थ पनि उसले बल्ल बुझी । सानी भए पनि उसका दिमागमा कुरा खेले, “ममीले पर्खनुपर्छ भनेको यसै हैन रहेछ ।” अनि फूलका कोपिलालाई सुम्सुम्याउँदै खुसी पाउन पनि पर्खनै पर्ने रहेछ भन्ने टुङ्गोमा पुगी र पानी हाल्दै फुलसँग भनी, “अब फुलेको हेर्न कति पर्खनुपर्छ ?”
“अब भोलिसम्म !” उसलाई उसैका पछिल्तिर उभिएकी आमाले भनेको पनि फूलैले भनेजस्तो लाग्यो अनि भोलिपल्टको पर्खाइमा लागी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
