नवनिर्वाचित उपराष्ट्रपति पुनद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

नवनिर्वाचित उपराष्ट्रपति पुनद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

काठमाडौँ, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा(माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

पुनले आज एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउनुभएको छ । साथै उहाँले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उहाँले आजको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको छ ।

images
संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गर्नुभएको छ ।

शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।

तपाइँको प्रतिक्रिया ।