चार मुक्तक : अरुण कुमार भुजेल
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २२।
मुक्तक १
पुर्खाको इतिहासहरू घोकेर हिँड्नु पर्छ
देशको साँध सिमाना तोकेर हिँड्नु पर्छ
सचेत र शिक्षित युवाहरूले धक नमानी,
छातीभित्र आफ्नो राष्ट्र बोकेर हिँड्नु पर्छ ।
मुक्तक २
विद्रोहको आगो बिस्तारै बल्दैछ देशमा
कुशासनको चक्रव्यूह नि गल्दैछ देशमा
रोकिनुहुन्न युवाहरूले उठाएको आवाज,
बल्ल त भ्रष्टाचारीको जग ढल्दैछ देशमा ।
मुक्तक ३
पीडाहरू जति घुटुक्क पिउन सक्नुपर्छ
च्यातिएको मन जतनले सिउन सक्नुपर्छ
जीवनको अर्काे नाम नै सङ्घर्ष हो साथी,
समस्याहरूसँग लडेर जिउन सक्नुपर्छ ।
मुक्तक ४
हिलोमा कमल फुलेझैँ फुल्ने प्रयास गर्नुपर्छ
धानको बाला झुलेसरि झुल्ने प्रयास गर्नुपर्छ
जड हैन गतिशील र ऊर्जावान बनी युवाहरू,
पवनसरह यत्रतत्र सर्वत्र डुल्ने प्रयास गर्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
