सर्त :सत्यजीत (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
सुदाम तयार भइहाल् ।
बुबाको आदेश उसले कहिल्यै अस्वीकार गर्न सक्तैनथ्यो । कारमा चढेपछि दब्बु हुँदै उसले सोध्यो, “बुबा, हामी कहाँ जाँदैछौँ ?”
बुबाले कडा स्वरमा भने, “घरको आज्ञा मान् । प्रश्न नगर् ।”
पल्लो गाउँको मुखियाको घरमा एक्कासी कार रोकियो ।
स्वागत, मिठो बोली, र औपचारिक कुराकानीबीच दुवैलाई एक्लै बस्ने वातावरण मिलाइयो ।
सुदाम र केटी आमनेसामने भए । केटीको स्वर लजाले काँपिरहेको थियो। सुदामले सोध्यो, “तिम्रो चाहना ? माग ?”
केटीले आँखा झुकाएर गहना, कपडा र साडीको लामो सूची सुनाइन् ।
परम्पराले चाहिएको सबै कुरा समेटिएको थियो ।
केटीले लजाउदै सोधिन्, “तपाईंको चाहाना के छ ?”
सुदाम हल्का हाँस्यो, “कुन कुन सामाजिक सञ्जाल चलाउँछ्यौ ?”
“फेसबुक… टिकटक…!”
सुदामले सहज तर नम्र स्वरमा भन्यो, “मेरो एकै सर्त छ, तिम्रो फेसबुक र टिकटकको आइडी र पासवर्ड ।”
एक्कासी केटीको अनुहार रातोनिलो भयो । आँखा तेजोहीन र उनी भुइँमा ढल्किइन् ।
सुदाम तर्सियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
