फाटेको घाम : हेमराज अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
माघे जाडो, पातपातमा शीत टल्किँदो थियो । घरभित्र च्याङ्ग्लो तान्दै सेतीले भनी, “ए पासाङ, पेटारे बाख्रो बेचेर भए नि एउटा सिरक ल्याउँ है?”
सेतीको आवाजमा भन्दा कापिरहेकोे शरीरमा धेरै पीडा थियो ।
पासाङले सेतीलाई कुममा थामेर बिस्तारै भन्यो ।
“हतार नगर सेती, पोहोर सिरक बाँड्दा त टायल्स ओछ्याउनेले सबै झिके। यो वर्ष त हामीलाई पनि पर्ला नि, नाम लेखिएको छ ।”
दिउँसो गाउँभरि खबर उड्यो ।
‘ठण्डी सहयोग’ आजै आइपुग्छ रे ।
सेती–पासाङ ढोकैमा कुरेर कुकुरझैँ बसिरहे । नाम पढिँदै जाँदा मन पनि धड्किँदै गयो ।
तर अन्त्यमा कर्मचारीले कागज पल्टाएर भन्यो ।
“छुटेका घर त थिएनन् है !”
सूचीमै नपरेको जस्तो गरी कतै नाम पढिएन ।
सेतीको आँखामा पानी टम्म भरियो ।
“ए पासाङ, गरिबको घर त कहिल्यै देखिँदैन त ?”
पासाङ पनि निःशब्द । भित्तामा झुन्डिएको पुरानो खुकुरीजस्तै मौन र थन्किएको । साँझ पर्न लागेको बेला अकस्मात दुई कर्मचारी घरअगाडि देखिए, “माफ गर्नु है बाजे ! पुरानो सूची नै ठिक रहेछ । तपाईँहरूको त छुटिएको रहेछ ।”
उनले हातैमा दुईटा नयाँ सिरक थमाइदिए । सेती–पासाङ एकछिन एक–आपसलाई हेरे । जाडो उस्तै थियो, तर मनभित्र चाहिँ अचकाली घाम फाटेजस्तो उज्यालो छायो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
