देशका नाममा चिठ्ठी : जेबी खत्री (निबन्ध)

देशका नाममा चिठ्ठी : जेबी खत्री (निबन्ध)

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

भड्खालो भन्नाले खास गरी कुनै अप्ठेरो खाल्टो वा भ्वाङ परेको ठाउँ विषेशलाई जनाउँछ । यो धेरै गहिरो वा ठूलो हुन्छ । टेक्ने न समाउँने केही नभएको । साँच्चै भनौँ भने सास फेर्न पनि नपाइँने वा मुस्किल पर्ने । जहाँ परिसकेपछि वा खसिसकेपछि सितिमिति ढङ्गले बाहिर निस्कन सकिन्न । मुस्किल पर्छ ।यसो अनुमान लगाउँ । कुनै एउटा गहिरो वा ठूलो खाल्टोमा हिँड्दाहिँड्दै उछिट्टिएर परियो । जति कोसिस गरे पनि अब कुनै हालतमा बाहिर निस्कन सकिन्न । यात्राको क्रममा बाटो हिँड्दाहिँड्दै अचानक यसरी खाल्टोमा खसियो । कसैले देखेन । हारगुहार गर्न पनि कसैले सुन्ने ठाउँ छैन । यस्तो अवस्थामा तपाइँ के गर्नु हुन्छ ? आफ्नो भन्नु सम्पूर्णता नियतिलाई सुम्पनु शिवाय अरू के हुन सक्छ ? प्रश्न तपाइँको होइन । प्रश्न त संकटको हो । समस्याको हो । अप्ठेरो स्थितिको चाहिँ हो । अप्ठेरो स्थिति भनेको कुनै व्यक्ति विशेष वा समाजलाई मात्र पर्दैन । यो त देश विशेषलाई पनि पर्ने कुरा रहेछ । यो आन्तरिक वा बाहीय दुवै कारणले हुनसक्छ । यहाँ आफैँ पनि एउटा साहित्यकार हुनुहुन्छ । उखान, टुक्का मिलाएर बोल्न सिपालु यहाँ एउटा देश भक्तका नामले कहलिएको राष्टवादी नेता पनि हो । मैले भर्खरै मात्र यहाँको संस्मरण पढेँ । यहाँका जेल बस्दाका कविता कतै नबरालिएका भए सायद यतिबेला सार्वजनिक हने थिए होला । म अत्यन्तै दुखित छु । एउटा लेखकका सिर्जना भनेका उसका सन्तान जस्तै प्यारा हुन्छन् । कसैका पनि नहराउँन् । तिनले मञ्च पाउँनु प¥थ्यो । पञ्चायत पनि निरङ्कुश मात्र होइन । पापी नै रहेछ । कुहिएको लाशको के धेरै कुरा गर्नु ।
यतिबेला मलाई यहाँ एउटा पुरानो र सानो घटनाकोे याद आयो । हामी सानो छँदाको कुरा हो । बुवा विहानको काममा कहाँ जानु भएको थियो । अबेला असिन र पसिन भएर आउँनु भयो । आउँने वित्तिकै फेरि कतै हिँड्न ठिक पर्दै भन्नुभयो, तल्ला घरको भैँसी भड्खालामा परेछ झिक्न जानु पर्ने भयो । आमाले हैन अब फेरी भात खाने बेलामा कता हिँड्न आँटेका भात खाएर जानु नि भन्नुभयो । बुवाले हैन भात खान थाल्दा ढिलो हुन्छ । बोलाका मान्छे आइसके भन्दै एउटा बलियो बाँसको टुक्रो र घाँस बाँध्ने बाबियाको बलियो डोरी एउटा हातले काखीमा चेपेर अर्को हातले मकैको खोस्टामा बेरेको सुर्ती तान्दै हतारहतार बाटो लाग्नु भयो । लुसुक्क बुवाको पछिपछि म पनि लागेँ । टाढा थिएन । हाम्रो घरदेखि तल चोक्टी भन्ने बारी थियो । बारीको सानो टुक्रो भएकोले त्यसलाई चोक्टी भनिएको हो । अन्जानमा यसो काँल्लाको डिलबाट टाँकीको घाँस लम्केर खान खोज्दा भैँसी भड्खालामा झरेछ । बसेको ठाउँबाट उठ्नै नसक्ने भएको रहेछ । मैले उसको नजिक गएर यसो हेरेको । त्यसले टाउको सुताई राखेको थियो । आँखाबाट आँसु खसिरहेका थिए । म निक्कै भावुक भएर हेरेँछु । एई नानी त्यहाँ छेउमा नजा यता आइज भनेर कसैले मलाई हका¥यो । फर्केर यसो हेरेको एक जना हाम्रै आफन्त रहेछन् । म पछि सरेँ । थाहै नपाई मेरा पनि आँखाबाट आँसु खसिसकेछन् । कसैले भने खुट्टा भाँचिए होला । कसैले ढाडै भाँचिएको हुनु पर्छ । बूढो भैँसी अव उठ्न मुस्किल छ । कसैले अब यो काम लाग्दैन । टुइँकी फुस्के जस्तो छ । यस्तै त्यस्तै भने । बडीआमाले बोकेर भएपनि घर ल्याई देओ । मरेपनि घरैमा मरोस । बाँचुन्जेल खोलेपानी त खान पाउँछ । म बूढी मान्छे आफैँ गर्छु यसको सम्हार भन्नुभयो । भैँसी बसेको ठाउँबाट चटपटाउँनै नसक्ने भएको थियो । दुईचार जनाको त केही सिप नलाग्ने । गाउँभरिका मानिस भेला भएर नल कसे । काँध हालेर होस्टेमा हैँसे गरे । केही सिप लागेन । त्यहीँ गर्नु पर्ने भयो बडीआमाले त्यसलाई खोलेफाँडो । पछि तङ्ग्रिए छ भने विचार गरौँला ल्याउँन परे सबैले भने । सबै फर्किए आ–आफ्नो घर । म पनि बुवाको अगिपछि गर्दै घर आइपुगेँ । हामी केटाकेटी दिनमा दुइँ पल्टसम्म त्यहाँ पुगेर हेर्ने ग¥थ्यौँ । केको निको हुँनु । अलिपछिदेखि त सिनो गनाउँन थाल्यो । छेउछाउ जानै नसकीने पो भयो । भूइँपटी बसेको शरीरको भाग सबै कुहीएछ । स्याउँस्याउँ किरा पो परे । केही समयपछि भैँसी त म¥यो । बडीआमाले आँआभरि आँसु पारेर गाउँले सबैलाई बोलाएर पुर्न लाउँनु भयो । गाउँलेहरू भेला भएर त्यहीँ पुरिदिए । आफूले पालेको कुखुराको चल्लाको समेत सारै माया गर्ने, पछिसम्म पनि बडीआमा त्यो भैँसीको गुनगान गरेर आँखा भरि आँसु पार्नु हुन्थ्यो । सायद मैले यहीँबाट आफ्नो चिजलाई मायाँ गर्न सिकेँ ।
फागुन–चैत लागेपछि बुवा बारीमा भल काट्न थाल्नु हुन्थ्यो । अब बर्खा लाग्यो । पानी ठूलो प¥यो भने जोतेको बारीमा भल पस्छ । सबै चिर्छ बारी । खाडल पार्छ । गरा खोलेर कामै नलाग्ने बनाउँछ । जोत्दा गोरू लाग्दैनन् । माटो सबै बगाएर लान्छ । बेलैमा भल काटेर पानी तर्काउँनु पर्छ भन्नुहुन्थ्यो । कुनै वर्ष भल काटिएन भने चैत–वैशाकमा परेको पानीले बारीमा भल पसेर बारी चिराचिरा पा¥थ्यो । उर्वर माटो जति सबै बगाएर ढुङ्गा मात्र देखिन्थे बारीमा । यस्तो भयो भने मकै मात्र होइन केही फल्दैन बारीमा भन्नु हुन्थ्यो बुवा । माटोलाई माया गर्न मैले यहीँँबाट सिकेँ । हामी हिउँदभरि बारीका ढुङ्गा टिपेर छेउमा थुपा¥थ्यौँ । काँल्ला फुटाएर पर्खाल लाउँथ्यौँ । बैशाक–जेठमा मकै छर्न माघैका दिनमा बारी बाँजो जोतेर राख्थ्यौँ । एकदम कर्र्मशील बुवाआमा हामी माटोमा प्राण देख्थ्यौँ । यो धरती नहुनु हो भने के गरेर खानु मान्छेले भन्नुहुन्थ्यो बुवाआमा । त्यहीँ फल्थ्यो धान । त्यहीँ फल्थ्यो मकै । त्यहीँ फल्थ्यो गहुँ । त्यहीँ फल्थ्यो जुनेलो । त्यहीँ फल्थ्यो कोदो । त्यहीँ फल्थे मास, भट्मास, मस्याम, गहत र बदामहरू आदि । माटो भनेको माटो मात्र पनि होइन रहेछ । माटो भनेको कर्म फुल्ने ठाउँ पनि रहेछ । माटो भनेको माटो मात्र होइन रहेछ । माटो भनेको देश पनि रहेछ । माटोको माया हुनेलाई नै देशको माया हुँदो रहेछ । देशको माया हुनेलाई नै माटोको माया हुँदो रहेछ । भनिन्छ देशको माया नहुनेलाई कसैको माया हुँदैन । २०४६ सालपछि देशमा विकृति फैलियो । यहाँलाई पनि थाहै छ । प्रजातन्त्र भनेको घर मात्र नभइ सबै खाले मान्छे हिँड्ने बाटो पनि रहेछ । मान्छे सभ्य नभइ खनेको बाटो जस्तो । बाटो जतिसुकै सहज, फराकिलो, सजिलो, सफा र छोटो, छरितो भएपनि हिँड्ने मानिस असभ्य र फोहोरी भएपछि बाटो के सफा हुन्थ्यो । बाटो, बाटो जस्तो के हुन्थ्यो ।देश सिस्टममा चलेन भने जनताले कुकुरले नपाएको दुःख पाउँदा रहेछन् । त्यो दशा आज नेपाली जनताले भोगिरहेका छन् । एउटा राजा त फाले नेपाली जनताले तर अरू थुप्रै त्यस्ता अर्ध सामन्तवादी छोटे राजाहरू च्याउ उम्रे झैँ उम्रिए । भष्टचार, लुटपाट, हिँसाहत्या, बलत्कार जस्ता जघन्य अपराधहरू मौलाए । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा वा ७ देखि ८० को दशकसम्म आइपुग्दा नेपाली जनताले के पाए ? भनेर कसैले प्रश्न सोध्यो भने राजनीतिमा ठूलो परिवर्तन भएको छ । २००७ सालमा १०४ वर्षे लामो राणा शासन फालियो । २०४६ सालमा ३० वर्षे पञ्चायत फालियो । २०६२÷२०६३ मा त्यति लामो इतिहास भएको राजतन्त्र फालियो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो कुनै मन गढन्ते कुरा होइन । लोकतन्त्र भनेको त्यस्तो व्यवस्था हो । लोकतन्त्र भन्दा राम्रो व्यवस्था संसारमा कुनै पनि हुँदैन । छैन पनि ।लोकतन्त्र भनेको त प्रजातन्त्रपछि आउँने जनताद्वारा जनतामाथि गरिने शुसासन हो । त्यो अहिले नेपालमा छैन । केही बुझेन भने बरू मानिस त्यसै बस्न सक्दो रहेछ । केही बुझ्यो भने मानिस त्यसै बस्न सक्दो रहेनछ । यो लेख त्यसैको एउटा उपज पनि हो । नेपालमा जनताले चाहेको राजनीतिक परिवर्तन मात्र थिएन । नेपाली जनताले चाहेको त राजनीतिक परिवर्तन सँगसँगै आर्थिक परवर्तन पनि थियो । नेपाल आर्थिक रूपले पनि समृद्ध होस । सम्पूर्ण नेपाली जनता समृद्ध हुन् । देशसँगसँगै सम्पूर्ण नेपाली जनताको आर्थिक स्तर माथि उठोस भन्ने थियो । आज त्यो अवस्था रहेन । नेता तथा कर्मचारीहरूलाई भ्रष्चार गर्न पुग्यो पैसा तर देशको विकास गर्न पुगेन । सबै आफ्नो गुण बनाउँन पटी लागे । देश बनाउँन पटी कोही लागेन । साँच्चै भनौँ भने अहिले नेपाली जनतालाई यो हाम्रो देश हो । हामी आफ्नो देश भित्र छौँ भन्ने अनुभूतिसम्म हुन छाडेको छ । देश भित्र देश खोज्ने अवस्था कसरी सिर्जना भयो ? देश कता हिँडिरहेको छ ? भन्ने कुराको ख्याल शासकलाई भन्दा पनि शासितलाई बढी थाहा हुनु पर्ने रहेछ । नेपालमा अझै पनि त्यस्ता समुदाय पनि छन् जसलाई हाम्रो देश छ । हामी देश भित्र छौँ । यो हाम्रो देश हो । हामी नेपाली हौँ भन्ने समेत राम्रोसँग ख्याल छैन । हामीले ठूला नेता पायौँ । असल नेता पाएनौँ । पाए पनि छिट्टै गुमायौँ । शासक बन्ने नेता भए देश बनाउँने नेता भएनन् । दिनानु दिन राष्ट र राष्टियता कुनै न कुनै रूपमा कमजोर हुँदै गइरहेको छ । देशको मतलव कसैलाई छैन । जताततै स्वार्थका डर लाग्दा भड्खाला मात्र छन् । हामीले देश भनेको के हो ? त्यो बुझेनौँ । हामी त देश भनेको म हो भन्नेतिर लाग्यौँ । जन्मदै देश पाउँने भाग्यमानी हामीहरूलाई देशको मतलव के होस । सायद आफैँले देश निर्माण गर्नु परेको भए थाहा हुने थियो होला । अर्काको छाती माथि खेल्न सजिलो छ । आफ्नो छातीमाथि अरूले खेलेको बेला थाहा हुन्छ । थाहा नहुन्जेल त सहीय नै होला थाहा भएपछि त त्यही असहीय पीडा बन्ला । सबै भन्दा ठूलो चिन्ता यो देशमा विधिको शासन कहिले चल्ला ? सिस्टममा देश कहिले चल्ला ? राजनीतिमा सेवाको भावनाको विकास कहिले होला ? राजनीतिलाई मागि खाने र ठगी खाने थलोको रूपमा हेर्नेहरू कहिले बढारिएलान् । यहाँलाई पनि थाहै छ । प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश विदेशीहरूले परेड खेल्ने थलो बन्दै गएको छ । आफ्ना समस्याहरूको आफैँले छिनोफानो गर्न नसक्नु । सधैँ विदेशीका सामु लम्पसार पर्नु । यहाँ भन्दा लज्जास्पद र बिडम्बना नेपालीहरूका लागि अरू के हुन सक्छ ? त्यही काम आफूले गर्दा सही हुने । त्यही काम आफू जस्तै अर्कोले ग¥यो भने त्यो गलत हुने प्रवृत्ति डर लाग्दो रूपमा विकसित हुँदै गइरहेको छ । आफ्नो सम्मान चाहनेले अर्काको सम्मान पनि गर्न जान्नु पर्छ । आफ्नो कुरा राख्न चाहनेले अर्काको कुरा पनि सुन्न सक्नु पर्छ । यो प्रवृत्ति नेपालको राजनीतिमा शून्य प्रायः हुँदै गइरहेको छ । देश भित्रभित्रै धमिराले खाएको काठको निदाल जस्तै भएको छ । डुब्नै लागेको डाँडाको घाम जस्तै भएको छ । साउँनको झरीले भिजेर गलेको पहाड जस्तै भएको छ । देशमा डर लाग्दो स्थितिको सिर्जना हुँदैछ । एक खाले मात्र होइन । धरै खाले विद्रोह अब एकै चोटी सिर्जना गरेर देशलाई गृहयुद्धतिर धकेल्न खोजिदैछ । यदि देश त्यतातिर गयो भने नेपाल र नेपालीको हबिगत के होला ? यहाँ आफूले पालेको एउटा कुखुराको चल्लाको पनि कति धेरै माया हुन्छ हामीलाई । एक टुक्रा आफ्नो जग्गाको माया कति हुन्छ हामीलाई ? तर देशको माया खोई ? हरेक नेपालीले मुटुको ढुकढुकीमा देश राख्न सक्नु पर्छ । देश रहेसम्म मात्र रहन्छौँ हामी । देश भन्दा माथि कुनै नेपाली छैन । शब्दमा देशको वर्णन गरेर साध्य छैन । जति गरे पनि कमै हुन्छ । भनिन्छ राजनीतिमा कत्ति कुराहरू यस्ता हुन्छन् जुन देखेर पनि समाउँन मिल्दैन । सुनेर पनि भन्न मिल्दैन । बुझेर पनि नबुझे जस्तो गर्नु पर्छ । निदाएको मानिसलाई उठाउँन सजिलो छ तर निदाए जस्तो गर्ने मानिसलाई उठाउँन गाह्रो छ । यहाँ तातो पानीले घर जलाउँन खोजिएको छैन । यहाँले पनि ख्याल गर्नु भएकै होला । फेरि पेट्रोल छर्केर सलाई कोर्न खोजिदै छ । नेपालीमा एउटा भनाइ छ । चो¥यो भनेर होइन पल्क्यो भनेर डराउँनु पर्छ । नेपाललाई सधैँ द्वन्द्वमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय ठूला, साना शक्तिहरू जोडदारसँग पहिलेदेखि अहिलेसम्म लागि परिरहेका छन् । यो कुरा अब राजनीतिक दलका नेताहरूले मात्र बुझेर हुने वाला छैन । सम्पूर्ण नेपाली जनताले बुझ्नै पर्ने बेला आएको छ । अब पनि नेपाली जनताले बुझेनन् भने देश मात्र होइन । सम्पूर्ण नेपाली जनता नै ठूलो भड्खालोमा पर्ने छन् । त्यतिबेला नेपालको मात्र होइन । सम्पूर्ण नेपालीको अस्तित्वनै नरहन पनि सक्छ । नेपालै नरहेपछि नेपालीको अस्तित्व कसरी रहोस । अब फेरी एक पटक नेता, कलाकार, साहित्यकार, गीत–सङ्गीतकार, लेखक, कवि, बुद्धिजीवी, विद्वान, सर्वसाधरण आदि सबैले राष्ट्र र राष्ट्रियताका खातीर सशक्त रूपमा खबरदारी गर्ने बेला आएको छ । अझ भनौँ हरेक नेपाली जनताले होसियार हुने बेला आएको छ । अब पनि नेपालका ठूला, साना सबै राजनीतिक दलका नेताहरूले एक ठाउँमा बसेर राष्ट्र र राष्ट्रीयताका बारेमा गम्भिर भएर सोच्न ढिला गरे वा सोचेनन् भने पछि पुर्पुरोमा हात राखेर रुनु, कराउँनु र पछुताउँनु शिवाय केही हुने छैन । त्यो दिन अब टाढा छैन ।
राष्ट र राष्टियताको खातिर दरो खुट्टा टेक्नुहोस । तपाइँलाई नेपाली जनताको साथ रहनेछ । आजलाई यति बाँकी कुरा अर्को पत्रमा लेखौँला । होसियार नेपाली जनता जय देश । जय नेपाली जनता । मैले यहाँलाई यो चिठ्ठी अलि अगि नै लेखेको थिएँ । पठाउँन नपाएर आज पठाउँदैछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।