पहाड शान्त छ : अरुण कुमार भुजेल (कविता )

पहाड शान्त छ : अरुण कुमार भुजेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

सुक्सुकाई रहेछ चियाबारी
भकानिँदैछ सिनकोनाघारी
बोकी दिने कोही छैनन्
यिनीहरूको पीडाको भारी ।

टिस्टाको आँसु सुकेको छैन
कसैको आँखाबाट लुकेको छैन
व्यथा केवल टिस्टाको भएर
अरू कसैलाई दुखेको छैन ।

डाको छोडेर रुन पाउनु छैन
मनको बह पनि धुनु पाउनु छैन
विरोधमा बोल्न नपाए पछि
हल्ला कताबाट के को हुन्छ र ?

कञ्चनजंगा मुस्काउनु सकेकी छैन
थुम्का थुम्की सबै निसासिरहेछन्
रङ्गित हाँसेर बग्न पा’को छैन
भुइँ मान्छे जिउँदो लास सरह भा’छन्

सबैको खुसी खोस्नेहरू
सत्ताको कुर्सीमा बस्नेहरू
अरूको हक र अधिकार लुटी
भन्छन् ‘पहाड़ शान्त छ ।’
भन्छन् ‘पहाड़ शान्त छ ।’

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।