जाग, देशका सन्तान : विजय रिमाल (कविता )

जाग, देशका सन्तान :  विजय रिमाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

यो देश स्वर्ग थियो,
तर अब यो स्वर्गमा दलालको दरबार बस्छ,
जहाँ इमानको मोल तोकिन्छ,
र देशभक्ती नापिन्छ पैसाको तराजुमा ।
अवैध धनको नदी बगिरहेको छ,
बैंक होइन, ठेकेदारको मनमा,
सरकार होइन, ठुलाबडा व्यापारीको हातमा,
देश बेच्नेहरूलाई यहाँ पुरस्कार मिल्छ,
र देश बचाउनेहरूलाई ‘अपमान !’
कृषक रोइरहेछन्, उद्योग सुक्दैछन्,
श्रमिक टिनको छानोमुनि सपना गन्दैछन् ।
तर, नेता, नौकरशाह, बिचौलिया, तस्करका
संतानले नयाँ गाडी किन्छन, विदेश घुम्छन,
यहाँ जनता भोकै पेटमा संविधान खोज्छन ।
कहाँ गयो त्यो नीति? त्यो धर्म ? त्यो निष्ठा ?
जहाँ जन्मिनु गौरव थियो,
अब त जन्मिनु लाजको विषय बन्यो ।
हे नागरिक ! अब पनि मौन?
मौनता त अपराधको सहकारी हो !
तँ बोलेनस् भने, भोलि तेरो सन्तान पनि बोल्न डराउनेछ ।
जाग, देशका सन्तान !
नयाँ प्रभात ल्याउने समय हो,
अवैध धनको महल भत्काउने समय हो,
सत्य, श्रम र नैतिकताको झण्डा फेरि फहराउने समय हो ।
यो देश अझै मरेको छैन,
तर, यदि हामीले आँखामा बाँधेको नोटको पट्टि
नफुक्यौं भने, यो देशलाई मर्ने बहाना खोज्नुपर्नेछ !
जाग, देशका जनता जाग!
स्वर्ग फर्काउन, दानव हटाउन,
अब हरेक नागरिकले न्यायको ज्वाला बलाउनुपर्छ,
अब पनि सूतने हो भने सूडान वा कांगोका
जनता झै अनाहकमा भोक र मृत्यु आत्मसात गरने हो ?

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।