कवि ढुण्डिराज पोखरेलको ‘ईश्वर नै मान्छे’ कविताभित्र मेरो गोताखोरी : भीमप्रसाद काफ्ले (समिक्षा)
कपन अनलाइन
काठमाण्डौ,भाद्र ३१।
कवि ढुण्डिराज पोखरेल मसँग साहित्यिम मार्गमा जम्काभेट भएका मित्र हुन् । पोखरेलको भौतिक परिचय भन्दा पनि भावनात्मक तथा वैचारिक परिचय महत्वपूर्ण छ भन्ने मलाई लाग्दछ । त्यसैले उनका कृतिहरूबाटै उनको सक्ककली परिचय खोज्ने जमर्को मैले गरेको छु ।
कवि ढुण्डिराजको जन्मथलोले त आफ्नो अनुहार देखाए पनि जन्ममितिले चाहिँ घुम्टो ओढेको यतिसम्म चाहिँ भन्न सकिन्छ, उनी खारिने क्रममा अहिले जीवनका उत्तराद्र्धमा पाइला चालिरहेका छन् । पाँच ओटा कवितासङ्ग्रह अध्यात्मिक सम्बन्धी चार ओटा र कथासङ्ग्रह दुई गरी जम्मा ११ ओटा पुस्तकका स्रष्टा पोखरेल विभिन्न पन्ध्र ओटा संघसंस्थाहरूसँग सम्बद्ध छन् । पौराणिक र आधुनिक दुबै कालको परिवेशमा समान रुपले कलम चलाउने पोखरेल एघार पुस्तकहरू मध्ये ‘स्वर्गभूमि नेपाल’ कवितासङ्ग्रह एक हो । ६७ ओटा कविताहरूको सङ्ग्रह यस कविता सङ्ग्रहको प्रतिनिधित्व कवितासङ्ग्रहको यहि कविता ‘स्वर्गभूमि नेपाल’ले गरेको छ । यस सानो लेखमा मैले कवितासङ्ग्रहभित्रको ५० औँ कविता ‘ईश्वर नै मान्छे’ को शल्यक्रिया गर्ने जमर्को गरेको छु ।
‘ईश्वर नै मान्छे’ कवितामा कविले मानवताभित्रै ईश्वर खोज्ने प्रयत्न गरेको देखिन्छ । अन्तर्मनको वैचारिक दही मथनी गरिहेर्दा पृथ्वीमा मुख्य दुई शक्ति विद्यामान रहेको पाइन्छ । पहिलो पराशक्ति हो भने दोस्रो अपरा, जसलाई इन्द्रियहरूद्वारा वस्तुगत रुपमा महसुस गर्न सक्दैनन् त्यो पराशक्ति जो अदृश्य, अस्पृश्य छ त्यो पूर्ण रुपेण काल्पनिक हो । प्रत्यक्ष आगमअनुमान, भारन, तौलन, स्वादन, श्रवण, स्पर्शन, रुपान्तरण, भोजन, प्रजनन, वृद्धि, मरन जस्ता कुनै पनि प्रभावले प्रमाणित हुँदैन त्यो पराशक्ति हो । कथाहरूमा पढेको र पण्डितहरूले वर्णन गरेकै आधारमा मात्र त्यसप्रति श्रद्धाभक्ति, आस्था, विश्वास राखिन्छ ति सब पराशक्ति हुन् । स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म, ईश्वर, भगवान्, देवदेवी, आदि र तिनको शक्ति, प्रभाव, वरदान, आशिर्वाद, श्राप, आध्यात्म, पाप–पुण्य जस्ता कुराहरू सबै अप्रमाणित हुन् । त्यसैले ती नित्य, सत्य अविनाशी तत्व हुन् । प्रारम्भिक कालका प्रभावका कारण पुस्तान्तरण भएकोले आज पनि हामी यसैमा बढी विश्वास गर्छौ ।
अर्को शक्ति हो अपरा शक्ति । यसको सम्बन्ध प्रत्यक्षतः संसारसँग छ, प्रकृतिसँग छ । यो परा जस्तो अप्रमाणित नभई धेरै हदसम्म प्रमाणित हुन्छ । यो दृश्य, स्पृश्य, लौकिक, भौतिक, परिवत्र्य, अनित्य, असत्य, विनाशी मानिन्छ । परालाई ‘रे’ले पुष्टि गर्न खोजेको छ भने अपरालाई ‘हो’ले पुटि गर्छ । यस ब्रह्माण्डमा प्रकृति मात्र सर्वेसर्वा हो । त्यसैले प्रकृतिभन्दा ठूलो कुनै धर्म छैन । यस विश्वमा भएका झन्डै बीस लाख प्रजातिका प्राणीहरूमा मानव मात्र एउटा यस्तो जीव हो जसको अन्र्तप्रेरणा भोक, भय र भविष्य तीनोटै हुन्छ । बाँकी सबै प्रजातिको अन्तरप्रेरणा, भोक र भय मात्र हो । सबै प्राणी शुद्ध प्रकृतिका अंश हुन् । कुनै ईश्वरीय शक्तिको उपज होइन । यस प्रकार मानिस प्रकृतिको अंश स्वतः हो । अहिले विश्वमा मानिसको साम्राज्य छ । मानिसको बौद्धिक शक्तिलाई परास्त कसैले गर्न सक्दैन । पृथ्वीको गर्भमा लुकेर बसेका विभिन्न तत्वहरू पत्ता लगाई मानिसले नै वित्रान बनायो । आज विज्ञानले नै वैदिक तथा पौराणिक कालका अनुमानलाई पनि अध्ययन, अनुसन्धान, विश्लेषण र परिक्षण गरी निष्कर्ष निकालेको छ । पहिलेका कतिपय अनुमानलाई परिमार्जन गरेको छ भने अनेकौ नयाँ नयाँ वस्तुहरू आविष्कार गरेको छ । यसबाट पनि प्रष्ट हुन्छ, मानिस प्रकृतिको उम्दा अंश हो र असम्भवलाई सम्भव बनाएर देखाउन सक्ने ईश्वरीय शक्ति भनेको मानिस नै हो भन्ने आशय कवि ढुण्डिराज पोखरेलले व्यक्त गरेको पाइन्छ ।
हाम्रा वैदिक, पौराणिक ग्रन्थहरूमा पनि ईश्वर सुर र असुर गरी फरक फरक मानव प्राणीको उल्लेख छ । यसको अर्ब जन्मले ईश्वरको दर्जा नभई विचार, भावना, सोच, कर्म, व्यवहार आदिले ईश्वर भगवान् देवता र असुर (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता अन्तर्दुर्गुणले गर्दा कहिल्यै सुरमा नहुने) बिच सोच, विचार, भावना, कर्म र व्यवहारले निच हुने जात सबै असुर । सन्तुलित गुण भएका सुर र उच्च गुण भएको ईश्वर भगवान् भए जस्तै अपरा जगतका मानव पनि सबै समान उत्तम हुँदैनन् । ती पनि उच्च (उत्तम) मध्यम (सामान्य) र अधम (निम्न) हुन्छन् । सबै उच्च सोच, विचार, भावना, कर्म, व्यवहार मानव हितमा नै हुने शुद्ध मनका मानिस उत्तम मानव हुन् । स्वार्थमा परार्थ र परार्थमा स्वार्थ हुने सन्तुलित गुण सम्पन्न मानिस मध्यम हुन भने काम, क्रोध, लोभ, मोह, मात्सर्य, अहंकार, अभिमान जस्ता दुगुर्ण मात्र भएका समाजका समस्यामूलक नागरिक जति सबै अधम हुन भन्ने आशय पनि कविले कवितामा प्रकट गरेका छन् । वैदिक तथा पौराणिक कालमा सम्पूर्ण प्राणीलाई आफूसमान देख्ने अथवा आफूले आफैँलाई चिन्नुलाई आत्माज्ञान भनिन्थ्यो । स्वामी विवेकानन्दले पनि ूत्जभ नचभबतभकत धष्कमयm ष्क तय पलयध तजथकभािू अथवा आफूले आफैँलाई चिन्नु सबैभन्दा ठूलो बुद्धिमानी हो, प्राज्ञ हो, ज्ञानी हो भनेको विचारसँग पनि आशयगत रुपमा कवि पोखरेल सहमत भएको देखिन्छ ।
कवि ढुण्डिराज पोखरेलको विचारमा ईश्वर कुनै सजीव प्राणी होइन, ढुङ्गा, काठ वा धातुले बनेका मूर्तिवत जड वस्तु हो । खोलाको बगरमा अलपत्र परेको ढुङ्गालाई मानिसले मन्दिरमा राखी ईश्वर बनाउँछन् । त्यसैलाई सम्पूर्ण आस्थाको धरोहर मानी भक्ति गर्छ, नित्य पूजा गर्छ, भजन गाउँछ, आरती उर्ताछ, अनेक अनुष्ठान गर्छ, बलि चढाउँछ । फूल, अक्षता, भेटी, नैवेद्य चढाउँछ, प्रसाद भन्दै फेरि आफैँ खान्छ । त्यो भन्दा सजीव ईश्वर मानिस स्वयम हो । देवकोटाको विचारमा मानव शरीर नै एउटा उत्कृष्ट मन्दिर हो । हाडहरूको खम्बर भएको मासुको भित्तो भएको, इन्द्रियहरूको द्वार भएको चेतनाको ताज भएको नसाका नदीहरू भएको मनरुपि सिंहासनमा ईश्वरको बास भएको शरीर नै अपारको मन्दिर हो । देवकोटा भन्छन् “चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात” कर्म नै पूजा हो भन्ने आशय यसबाट झल्कन्छ । “देखिन्छ ईश कुन मन्दिरमा पसेर, त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर” सफा मन भएका महामानवमा ईश्वरको सधैँ आशीर्वाद बर्षिरहन्छ भन्ने देवकोटाकै विचारसँग पनि कवि पोखरेलको वैचारिक मेल देखिन्छ ।
मानिसको मन असल विचार, भावना, सोच र व्यवहारको पुञ्ज मात्र होइन । असल मानिस बन्न सकारात्मक सोच र व्यवहारको विकास हुनुपर्छ । नकारात्मक सोच र व्यवहार राख्ने हो भने त्यो असुर वा नराधम बन्छ । सकारात्मक सोच, विचार, भावना र व्यवहारका मानिसको जीवन दिव्य जीवन हो भने नकारात्मक सोच, विचार, भावना र व्यवहारको मनव असुर हो जसको जीवन नारकीय हुन्छ ।
मानिसमा उर्जा शक्तिका रुपमा सात चक्र हुन्छन् मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा, सहस्त्रार आदि । त्यस्तै वाणी शक्ति चार हुन्छन् ः परा पश्यन्ती, मध्यमा र बैखरी परा वाणी यसको सम्बन्ध मूलाधार चक्रसँग हुन्छ र यो नाभीको हो । पश्यन्ती वाणीको सम्बन्ध मणिपुर चक्रसँग हुन्छ र यो हृदयको वाणी हो । मध्यमा वाणीको सम्बन्ध अनाहत चक्रसँग हुन्छ र यो कण्ठको वाणी हो । बैखरी वाणी मुखको वाणी हो जो हामी सारा प्रयोग गर्छौ । यसरी मानव मात्र यस्तो जीव हो जो वाणी र चक्रको सन्तुलनमा आफूलाई राख्न सक्छ । त्यो उत्तम मानव हो, ईश्वरीय झल्को हो । मानव जहिले पनि यस्तै बनी आफूलाई चिन्ने प्रयत्नमा लागिरहनु पर्छ भन्ने गुह्यज्ञान पनि कवि पोखरेलले ‘ईश्वर नै मान्छे’ कवितामा झल्काएका छन् ।
पृथ्वीमा मानिस सम्पूर्ण हर्ताकर्ताका रुपमा जन्मन्छ । बुद्धिमान मानिस मान्छेलाई मान्छेकै रूपमा हेर्छ । मानिसको अधिकार र कर्तव्य बुझ्छ । सबै मानिसबीच सहअस्तित्व, सहभाव, समभाव, सहयोग, निर्भेद्य, अक्रोध, अलोम, सदाचार, सहिष्णुता, जस्ता विशिष्ट गुणको सम्प्रेषण गर्छ भन्ने कुरा मैले कवि पोखरेलको ‘ईश्वर नै मान्छे’ कविताभित्र गोताखोरी गर्दा अनुभूत गरेको छु । यसै सिलसिलामा कवि पोखरेलसँग आफ्ना सहमतिका केही पंक्तिहरू थप्न चाहान्छु ः
मान्छेको आँसु मान्छेले पुछ्नु मान्छेकै धर्म हो
अरुकै निम्ति ज्यूज्यान दिनु मान्छेकै कर्म हो ।
तसर्थ मान्छे हुनुको अर्थ मान्छेकै हुनु हो ।
खुर्केर सारा दुर्भाव दाग विवेकले धुनु हो ।
बुद्धिमान मानिस आफू जन्मेको पृथ्वीलाई आफ्नो बुद्धि, ज्ञान, विवेक, वाणी र व्यवहारले सजाउँछ । जीवन र जगतलाई चिनेर मानवहितमा आफूलाई समर्पित गर्छ । मनका सारा दुर्गुण दागहरूलाई विवेकले खुर्केर टल्काउँछ । मानिसमा प्रेम, स्नेह, माया, ममता, आदर, सम्मान, प्रतिष्ठा, न्याय जस्ता विशिष्ठ भाव राख्छ । सकेसम्म अन्य प्राणीमा समेत दया, करुणा, कृपा जस्ता हितजन्य भाव राखी तिनको पनि अधिकारको रक्षा गर्छन् र जीवनलाई सुरक्षा दिन्छ । त्यस्ता मानिस ज्ञानी हुन्, प्राज्ञ हुन अन्तर्हृदयस्पर्शी हुन् । तिनै ईश्वर स्वरुप हुन् । त्यस्ताले सर्वत्र ईश्वर देख्छन् । तिनीहरू ईश्वर खोज्न मन्दिर, मस्जिद, गुम्बा, चर्च, गुरुद्वार, जैनमन्दिर, लोटस आदि बहीँ जानुपर्दैन । त्यस्ता व्यक्ति अहंकार, अभिमान, तुजुक, सेखी, मपाई, आत्मश्लाघा जस्ता दुर्गुणहरू पाली मूर्ख बन्दैनन् । त्यस्ता व्यक्ति आफूलाई चिन्छन् र अरुलाई पनि आफू जस्तै देख्छन् । सारा मानवोचित कर्म गरी जीवन सफल पार्छन् भन्ने भाव कवि पोखरेलले यसरी व्यक्त गर्दछन्ः
ज्ञानदृष्टि भए मान्छे देख्छ ईश्वर जता पनि
अज्ञानी मूर्खले मात्रै मै हुँ भन्छ अहम बनी
दया, प्रेम करुणा भाव भए जीव धन्य छ
जो चिन्दैन स्वयमलाई त्यसको जीवन व्यर्थ छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
