बुढानीलकण्ठ नगरपालिकामा बजार अनुगमन तीव्र
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
बुढानीलकण्ठ नगरपालिकमा बजार अनुगमनलाई तीव्र रुपमा अगाडी बढाईएको छ। नगरका सबै वडाका प्रमुख बजार क्षेत्रलाई लक्षित गर्दै किराना पसल, खाद्यान्न पसल, मासु पसल, होटल–रेस्टुरेन्टदेखि मिठाई पसलसम्ममा गहिरो अनुगमन गरिएको हो।
अनुगमन टोलीले व्यवसाय दर्ता र नविकरण, मूल्य सूचीको प्रदर्शनी, खाद्य सामग्रीको गुणस्तर र म्याद, भण्डारण अवस्था, सरसफाइको स्तर लगायतका विषयमा सूक्ष्म जाँच गरेको छ। मापदण्ड विपरीत क्रियाकलापमा संलग्न व्यवसायीलाई तुरुन्तै सुधार गर्न निर्देशन दिइएको छ भने गम्भीर त्रुटि देखिएका केही व्यवसायमा कानूनी कारबाही समेत गरिएको छ।
अनुगमन संयोजक अनिता लामाको संयोजकत्वमा भएको यस अभियानलाई उपभोक्ताले राहतको रूपमा स्वागत गरेका छन्। उपभोक्ताले “यसले अब गुणस्तरीय, स्वस्थ र निष्पक्ष मूल्यमा सामान पाउने विश्वास जगाएको छ” भनेका छन्।
