शायद चिताबाट उठेर आउँछ मानिस : रमेश प्रसाद खनाल (कविता )

शायद चिताबाट उठेर आउँछ मानिस : रमेश प्रसाद खनाल (कविता )

कपन अनलाइन

काठमाडौँ, साउन २४।

हिजोसम्म तिम्रो राम्रो म
कसरी भएँ रातोरात नराम्रो ?
हिजोसम्म तिम्रो प्राण प्यारो
कसरी भएँ रातोरात म परित्यक्त ?
हिजो सम्म थिएँ विश्वासिलो तिम्रो
किन हो तिमीलाई
आज मेरो छायाँ समेत हेर्न मन लाग्दैन
–न मेरो अनुहार नै हेर्छौ तिमी
–न म नजिकै भएको मन पर्छ तिमीलाई
–न मैले बोलेको मन पर्छ तिमीलाई,
–न हिडेको नै सही देख्छौ तिमी
के भएछ मबाट कुन्नि
– टाढैबाट मेरो सास गन्हाएको जस्तो मुख बिगार्छौ तिमी
के भूल मबाट भएछ कुन्नि
– अब त छायाँ मात्र देखे पनि
मेरो क्रोधाग्नीमा दन्कंछौ दनदनी तिमी !
सोच्छु–
– शायद, तिमीले बजाएको बाजाको तालमा नाच्न जानिन कि
–तिम्रो सुरमा स्वर मिलाएर गीत गाउन सकिन कि
–जे जे भने पनि तिमीले हो हो भन्न सकिन कि
–कुरुपतालाई रुप मान्दै बखान गर्न सकिन कि
–फूलबुट्टा भरेर भए नभएको गुणगान गरिन कि
–अमृत हो भन्दै तिमीले दिएको बिष–प्याला पिउन मानिन कि
–हिंस्रक दानवहरूलाई तिमीले पुजे झैं पुज्न मानिन कि
–तिमीले आरती गर्ने देवहरूको भजनमा शायद झुमिन कि
–शायद, तिम्रो सानो हारलाई आफ्नो ठुलो जीत मानेँ कि
–शायद, तिम्रो सानो जीतलाई आफ्नो ठूलो हार मानें कि !
सोच्छु–
–शायद, जिउँदो मानिस कहिल्यै मर्दैन,
ऊ मरेर पनि चिताबाट उठेर आउनेछ एक दिन भने कि
–शायद, आज खरानी भएको मानिस
एकदिन ज्वाला बनेर उठ्नेछ भनेर भने कि !
शायद, झुठको खेती धेरै दिन टिक्दैन,
सत्य कहिल्यै मर्दैन भन्दै हिंडे कि…
शायद…… !
शायद……!!
शायद…!!!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।