किन रुन्छस् मङ्गले आफ्नै ढंगले : राम आचार्य पुष्पप्रेमी (संस्मरण)
कपन अनलाइन
काठमाडौं, साउन३।
आफू पुरानो मान्छे परेर होला पुरानै कुराको याद बढी आउँछ । तुलनात्मक रुपले पुराना कुरा सहज र सरल भएर पनि होला । पुरानो दिमाग पनि सोझो नै हुन्थ्यो क्यारे, त्यसैमा रमाइन्थ्यो, र त याद बढी आउँछ । अब आफ्नै जमनाको सेरोफेरो कुरा गरौं ।
हामीले पढ्दा पञ्चायत ब्यबस्था थियो । शिक्षा पनि त्यहि अनुसारको नैतिक शिक्षामा जोड दिने, आदर्श निर्माण गर्ने र देश र समाजको जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु थियो । खयर उछ्रिङखल हुन बाहेक अरु सबै गतिविधि गर्न स्वतन्त्र पाइन्थ्यो । अहिले जस्तो छाडातन्त्रलाई पूर्णतः नियन्त्रण चाहिँ थियो नै । धाक, धम्की, ढाँटछल, लुट र झुट राज्यको नियन्त्रणमा थियो । सत्य र अनुशासनलाई प्राथमिकता दिइन्थ्यो । राज्य जनताको अभिभावक रहन्थ्यो । तत्कालको राज्यो स्रोत अनुसार सरल र सुलभ तरिकाले जनतालाई समान सेवाको अवसर दिइन्थ्यो । क्ीऋ दिएर निस्किस्दा विद्यार्थी सक्षम र जिम्मेवार नागरिक भएर निस्किन्थ्यो ऊ । अहिले जस्तो पावर पहूँचका आधारमा कक्षा चढ्ने, परीक्षा नै नदिई श्रेणी उक्लिने कल्पना पनि गर्न सकिँदैन थियो।
हामी ०३०÷३१ सालमा स्कुल जाँदा पनि स्कूलमा अनुशासित वातावरण थियो । त्यो भन्दा पहिला झनै कडा र व्यवहारिक शिक्षाका पुस्तक हुन्थे । तिमीहरूका पालामा सजिलो पाठ्यक्रम आयो भन्थे गुरु र अग्रज दाईहरू । ९०० पूर्णङ्कको पाठ्यक्रम पढ्नुपथ्र्याे । शिक्षक विद्यार्थी लगनशील र मेहनति हुन्थे । बन्द हड्ताल गरेर पढाइ अवरोध हुन र गर्न प्रतिबन्ध नै थियो, जसले गर्दा राज्यको बार्षिक शैक्षिक कार्यक्रममा कुनै बाधा पर्दैन थियो। समय मै रिजल्ट निस्किन्थ्यो । तोकेकै समयमा शैक्षिक बर्ष शुरु हुन्थ्यो ।
मा.वि. तह पूर्ण निशुल्क थियो । क्याम्पसमा पनि नाम मात्रको शुल्क लाग्थ्यो । सम्पूर्ण ब्यय भार राज्यले बेहोथ्र्याे जनताका छोराछोरी शिक्षित हुन् भनेर । हामी क्याम्पसमा जाँदा प्रविणता प्रमाण पत्र तह क्ष्।ब्। भनिन्थ्यो, जसमा दुई महिनाको एक किस्ता गणना गरेर ६ किस्तामा शुल्क लिइन्थ्यो, १ किस्ताको ३९ रुपैया थियो । बि ए पढ्ने दाईहरूले ५० रुपैया किस्ता तिर्थे। जसमा क्ष्। ब्। को महिनाको १९ रुपैया र बि. ए को २५ रुपैया पर्न आउँथ्यो । उता त्रि. वि. वि.को क्याफेमा महिनाको ३०० मा मासु भात÷ दूध, दही र मिठाई समेत ख्वाएर, छात्रवासमा बसेर पढ्ने सुविधा दिएको थियो राज्यले ।
यस्तो महङ्गो सामन्ति शिक्षा प्रणाली हटाउनु पर्छ । ब्यबस्था फेरेर बहुदल ल्याउनु पर्छ र पम्फा देवीको पैसा ल्याएर फि मात्र होइन, कपी, किताब र छात्रवृत्ती पाउने ब्यबस्था ल्याउनु पर्छ भनेर हामीलाई राजनीतिक दल र उनका भ्रातृसंगठनहरूले उचाल्न थाले । बन्द हड्ताको संस्कृति बिकास भयो। अन्तत्वगत्वा २०४६ मा जनआन्दोन भयो । सस्तो शिक्षा, स्वास्थ्य र रोजगारीका लागि तम्सिने हामी सबै आन्दोलनमा होमियौं ।
पञ्चायत ब्यबस्था ढल्यो । त्यसपछी सस्तो खान तम्सेका हामीहरूको मुखमा केराको कोसो हालिदियो बहुदलिय ब्यबस्थाले । कलेज लाग्दा ३९ रुपैया किस्ता बढेर ३०० भएछ ।
उता ३०० मा मासु भात ख्वाउने क्याफे पट्नाको माड्वारीलाई ठेक्कामा दिएर महिनाको ६ हजार पनि ख्वाउन नसक्ने भएर अन्त्यमा बन्द नै ग¥यो । जुन ठाउँमा जनसंख्या बढि छ त्यहाँ राज्यले जोखिम र दायित्व खपेरै भए पनि स्कुल कलेज खोलिदिन्थ्यो सरकारले । ०४६को परिवर्तन पछि राज्यले कति सरकारी स्कुल कलेज खोल्यो ? सुन्न पाएको छैन । उल्टै निजीकरणका नाममा प्राइभेट स्कुल कलेज खुल्दै गएर जहाँ गरिबको पहूँच भन्दा टाढा छन् ।
अब अनुमान गरौं राज्यले कति ब्यय भार खपेर जनताका छोराछोरीलाई सुलभ शिक्षा दिएको रहेछ ? सहजै अनुमान लाउन सकिन्छ । पछि थाहा हुँदै गयो सस्तो सुलभ शिक्षाका लागि आन्दोलनमा हिँडियो । रातारात पोष्टर टाँस्न पठाएको त उनीहरूको स्वार्थ पूर्तिको लागि पो रहेछ । बित्थामा न्याउरी मारी पछुत्तो बाहेक के रह्यो र अब ? अहिले झन शिक्षामा ब्यापारीकरण तिब्र छ । नेताले देश लुटेर, जनता शोषण गरेर, स्कुल, अस्पताल र बैक खोल्ने लहड नै चलेको देखिन्छ । बिचरा हामी हेरेको हेरेई । किन रुन्छस् मंगले आफ्नै ढंगले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
