आऊ बर्षा आऊ : समीर अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं, साउन ३।
आऊ वर्षा आऊ मात्रा मिलाएर संयमित हुँदै
आऊ सबैतिर आऊ
तिम्रो आगमनले कसैको मन नदुःखोस्
होस पु¥याउँदै खाँचोहेरी आऊ
हो, खडेरीले काकाकुल भएका ठाउँहरूमा
तिम्रो अभाव खड्किएको छ
सुन फल्ने खेतहरूमा तिम्रो अनुपस्थितिले
रोपाइँ अड्किएको छ
तर,
लेकको डाँडागाउँको बस्ती मुनिको पाखो
पहिरोले नतान्नेगरी आऊ
बेसिको पुछारगाउँको गैरीखेतको शिर
बाढीले नहान्नेगरी आऊ
उसो त, तिमी यावत् जीवात्मा लगायत
वनस्पतिहरूका अन्नदाता हौ
भूमण्डल जलमण्डल नभमण्डल
तिनैतिरका कर्मदाता हौ
फेरि पनि, पुलपुलेसा र बाटाघाटाहरूमा
कतै क्षति नपुग्नेगरी आऊ
मानव बस्ती र गोठहरूमा
जनधनको खति नहुनेगरी आऊ
विन्ती छ,
ख्याल गरे तिम्रो अतिवृष्टिले कतै रुवाबासी नछाओस्
सम्हालिएर झरे तिम्रो बेगहरूले
कसैको उठिबास नलाओस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
