प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो : लक्ष्मी पौडेल

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो :  लक्ष्मी पौडेल

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

आजको युग विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकासले विश्वलाई एउटा सानो गाउँजस्तै बनाइदिएको छ । कुनै पनि देशको समग्र विकासका लागि प्रविधिको उपयोग अनिवार्य जस्तै भएको छ । प्रविधि भनेको विज्ञानको व्यवहारिक प्रयोग हो, जसले मानिसको जीवन सहज, सरल र प्रभावकारी बनाउने कार्य गर्छ । प्रविधिको उपयोगले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चारजस्ता सबै क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।
शिक्षाको क्षेत्रमा हेर्दा, स्मार्ट कक्षा, अनलाइन कक्षा, डिजिटल पुस्तक र शिक्षण सामग्रीको उपयोगले सिकाइ प्रक्रिया सहज र प्रभावकारी भएको छ । स्वास्थ्य सेवामा टेलिमेडिसिन, डिजिटल रिपोर्टिङ, आधुनिक उपकरणहरूको प्रयोगले छिटो र भरपर्दो उपचार सम्भव भएको छ । कृषकहरूले प्रविधिको माध्यमबाट मौसमको जानकारी, मल तथा बीउबिजनको अवस्था र बजारको मूल्य थाहा पाउन सक्छन् । यसले कृषि उत्पादनमा वृद्धि ल्याएको छ ।
यस्तै, प्रविधिको माध्यमबाट उद्योग र व्यापार सञ्चालनमा पनि सहजता आएको छ । ई–कमर्स, डिजिटल बैंकिङ, अनलाइन मार्केटिङ आदिले आर्थिक विकासमा ठूलो योगदान पु¥याएका छन् । सूचना प्रविधिमा आधारित प्रशासनिक प्रणालीले पारदर्शिता र जवाफदेहिताको विकास गरेको छ । साथै, प्रविधिले नयाँ रोजगारी सिर्जना गर्दै युवा पुस्तालाई आत्मनिर्भर बनाउने अवसर प्रदान गरेको छ ।
निष्कर्षमा भन्नुपर्दा, आजको प्रतिस्पर्धात्मक युगमा कुनै पनि देश प्रविधिको प्रयोगबिना समृद्धि हासिल गर्न सक्दैन । प्रविधि भनेको देश विकासको मेरुदण्ड हो । त्यसैले प्रविधिको सही र न्यायोचित उपयोग गर्न सके मात्र देश आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक रूपमा समृद्ध बन्न सक्छ । प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो भन्ने कुरामा कुनै शंका छैन ।
प्रविधि विकासको एक महत्वपूर्ण पूर्वसर्त पनि हो । यसको अभावमा विकास निर्माणका कार्य गर्न कठिन हुन्छ । आजको युगमा प्रविधिको प्रयोग र आवश्यक सम्बन्धमा सबैलाई थाहा छ । हरेक क्षेत्रको विकासमा प्रविधिको सहयोग अपरिहार्य हुँदै गएको छ । प्रविधिको प्रयोगले विकासका कार्य सँगसँगै मानवीय कार्य गर्न पनि सहज बनाएको छ । प्रविधि पनि विभिन्न किसिमका हुन्छन् । सूचना प्रविधिलाई विकासका निम्ति एक महत्वपूर्ण पूर्वाधारको रुपमा लिइन्छ । अहिलेको समयमा सूचना प्रविधिको विकाससँगै अन्य माध्यमको विकास भएको हामीले पाउँछौँ । सञ्चार तथा सूचना प्रविधिको सबैमा सहज पहुँच तथा उपयोग गरी सूचना प्रविधिलाई आधारित उद्योगको विकास हुन्छ र यसबाट रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ । वर्तमान समयमा विज्ञान र प्रविधिको धेरै महत्व रहेको छ । विज्ञानले विभिन्न क्षेत्रमा धेरै उपलब्धीहरू पाएको छ । यसको प्रयोग सबै क्षेत्रमा हुन्छ । यसले स्वास्थ्य, यातायात, कृषि, शिक्षा, उद्योग, सुचना जस्ता वहुआयामिक क्षेत्रमा पनि महत्व राख्ने भएको हुँदा प्रविधिको उपयोग विना आधुनिक विकास सम्भव छैन भन्ने कुरामा कसैको दुईमत छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।