युद्धले बुद्ध चिन्दैन :भलादमी भोला (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
तिमी
कति अगरबत्ती बाल्छौ
कति तपस्या गर्छौ
हात जोडेर प्रार्थना गर्छौ
जे गरेपनि जल्लादको मन फेरिँदैन
यहाँ युद्धले बुद्ध चिन्दैन ।
यहाँ साइरन बज्दा बज्दै
खाँदै गरेको गाँस छोड्नुपर्छ
बस्दै गरेको बास छोड्नुपर्छ
पुग्नै लागेको गन्तव्य रोक्नुपर्छ
सधैँ बङ्करको दुलोबाट
चिहाउनुपर्छ सपनाको संसार
कति दिन बाँच्न सकिन्छ
हत्केलामा मृत्यु बोकेर
कसरी हुर्काउन सकिन्छ
निराशाहरूमा आशाको फूल
गोलीका छर्राबाट
कसरी जोगिन्छ मनुष्य
शक्तिको उन्मादले जुधेका साँढेहरू
आकाशका चिलझैं
वायुयानहरू उडाउँछन्
मिसाइलहरू फ्याल्छन्
समाजलाई असभ्य बनाउन
पृथ्वीलाई चिराचिरा पार्न
विनाशको युद्ध रोज्दैछन्
यस्तो ठाउँमा तिमी
बुद्ध खोज्ने कुरा गर्छौं ।
निशस्त्रहरूको खुसी खोसेर
अहमताको धुन बजाएपछि
कसरी भेट्न सकिन्छ बुद्ध ।
युद्ध आफैंमा निर्दयी हुन्छ
युद्ध आफैंमा त्रासदी हुन्छ
ममता मारेर गरेको युद्ध
दया भुलेर गरेको युद्ध
आफ्नै खुट्टामा बन्चरो हाने झैँ
घातक हुन्छ
युद्ध गरेपछि बुद्ध भेटिदैन
बुद्धले तिमीलाई चिन्न सक्दैन
हो युद्धलाई बुद्धले चिन्दैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
