गुरु : त्रिलोचन आचार्य (कविता)
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
अड्दैनन् कखराभित्र कर्मका सार हुन् गुरु
देखाउँने नयाँ बाटो सृष्टिका हार हुन् गुरु
गुरु नै चुलीमा पुग्ने पाठ अर्को पढाउँछन्
सत्य बोल्न दरो बन्न सभ्य बन्न सिकाउँछन् ।१।
सिकाउँछन् गुरु नाच्दै नचाईकन अक्षर
आविष्कारहरु नाना गुरुकै देन हैन र ?
झर्छन् गुरु बनी शीत टिप्नुपर्छ फटाफट
भन्छन् गुरु विनाव्देष बन्नुपर्छ सफाचट ।२।
खुल्दा प्रभात यो हाम्रो गुरुकै हुन्छ तस्वीर
उभाएर लिनू भन्छन् गुरुले ज्ञान सागर
आमाले् ज्ञान बाँड्दैछिन् बनाई कर्म साक्षर
सीप शक्ति कला भर्ने गुरु बेगर को छ र ? ।३।
गुरु आगो बनी कैले जगाऊ ताप भन्दछन्
गुरु पानी बनी कैले भगाऊ राप भन्दछन्
गुरु धर्ती बनी कैले भकारी भर भन्दछन्
दाताभावविना कैले को कहाँ गुरु बन्दछन् ? ।४।
गुरु बाटो खनी दिन्छन् लक्ष्य खोज्दै जहाँ तहाँ
गुरु व्यापक छन् कक्षा कोठामा मात्र छन् कहाँ ?
टाढा शिष्य पुगोस् भन्ने जहाँ आफू रहे पनि
गुरु हुन् मानका योग्य घट्दैन दिव्य रोशनी ।५।
घाम जून तथा तारा यो दिव्य सृष्टिका सुरु
आमा बाबा तथा मित्र अनेकौँ रुपका गुरु
पढाउँने गुरुका झन् नभुल्ने शब्द गुञ्जन
म गर्नेछु सबै मेरा गुरुको अभिनन्दन ।६।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
