पारित भएको संविधानका धारामा के छ ?
काठमाडौँ, २७ भदौ । संविधानसभाले आज पारित गरेका तीन वटा धारामा संविधान मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता र राष्ट्रको परिभाषा समेटिएको छ ।
संविधानसभामा हाल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाई मतले धारा १, २ लाई दुई तिहाइले पारित गरेको थियो भने धारा ३ लाई नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतकले संयुक्तरुपमा दर्ता गराउनुभएको संयुक्त संशोधन प्रस्तावलाई पनि संविधानको अङ्ग मान्दै पारित गरेको थियो ।
सो धारामा तीन दलको तर्फबाट राष्ट्रको परिभाषामा रहेको ‘अखण्डता’ भन्ने शब्दको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्द थप गरिएको प्रस्ताव उल्लेख थियो ।
संविधानको पहिलो धारामा ‘यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भन्ने उल्लेख गरिएको छ । यस्तै, धारा दुईमा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेकोछ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।
यस्तै, धारा ३ मा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्था समेटिएको छ ।