चार महत्वपूर्ण विधेयक संसोधन सहित पारित गर्ने तयारीमा बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाण्डौ ,पुस २९।
बुढानिलकण्ठ नगरपालिकाले चार वटा महत्वपूर्ण विधेयकहरुलाई पारित गर्ने तयारी गरेको छ। नगरपालिकाको नगर अधिवेसनमा प्रस्तुत भएका चार वटा विधेयकहरुलाई केहि बुँदा संसोधन सहित चाडै पारित गर्ने तयारी बुढानिलकण्ठ नगरपालिकाले गरेको छ।
नगर अधिवेसनमा प्रस्तुत गरिएका ति विधेयकहरुमा केहि बुँदा संसोधन गर्नका लागि सदस्यहरुले गरेको प्रस्ताव स्वीकार गर्दै एक हप्ता भित्र छलफल गरेर पारित गर्ने तयारी गरिएको हो।
नगर अधिवेसनमा प्रस्तुत भएका बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक संग्राहलय संचालन तथा व्यवस्थापन विधेयक २०८१ , संघ संस्था दर्ता तथा नियमन विधेयक २०८१ , बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ र फोहोरमैला व्यवस्थापन विधेयक २०८१ लाई संसोधन सहित पारित गर्ने तयारी गरिएको हो।
नगर अधिवेसनमा प्रस्तुत गरिएको सांस्कृतिक संग्राहलय संचालन तथा व्यवस्थापन विधेयक २०८१ मा समितिको अध्यक्ष नगरपालिकाले तोकेको ब्यक्ति हुने प्रस्ताव गरिएको छ भने यसमा सदस्य सचिव सहित ५ जना सदस्य रहनेछन।
त्यस्तै प्रस्तावित संघ संस्था दर्ता तथा नियमन विधेयक २०८१ मा समितिको संयोजक सामाजिक विकास समितीको प्रमुख रहने प्रस्ताव गरिएको छ भने यसमा सदस्य सचिव सहित तिन जना सदस्य रहनेछन।
यसैगरी नगर अधिवेसनमा प्रस्ताव गरिएको बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ मा उपभोक्ता हित संरक्षण समितिको संयोजक नगर प्रमुख रहने व्यवस्था प्रस्ताव गरिएको छ भने यसमा सदस्य सचिव सहित ५ सदस्य रहनेछन।
नगर अधिवेसनमा प्रस्तुत गरिएको फोहोरमैला व्यवस्थापन विधेयक २०८१ मा फोहोरमैला व्यवस्थापन बोर्डको अध्यक्षमा नगर प्रमुख रहने प्रस्ताव गरिएको छ भने यसमा सदस्य सचिव सहित १५ जना सदस्य रहनेछन।