ब्राइट फ्युचरद्वारा आईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

ब्राइट फ्युचरद्वारा आईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ४ ।

नैकापस्थित ब्राइट फ्युचर स्कुलले आईएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको छ ।
अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आईएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट ३ खेलाडी, २ प्रशिक्षक र १ टोली प्रमुखसहित ६ जनालाई सफलताको शुभकामनासहित बिदाइ  गरियो । पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उप मेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निबिता केसीले प्रतिस्पर्धा गर्ने छन् । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निबिताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहेका छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन् ।
उनीहरुसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्ने छ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबार बहराइन प्रस्थान गरेका छन् ।
आईएसएफको आयोजनामा हुने प्रतियोगितामा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउदै छ । नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (४ टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन् ।
यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा हुन लागेको २० औं संस्करणमा पारासहित २६ खेल समावेश छन् । प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको सचिव रेग्मीले जानकारी गराए । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।

तपाइँको प्रतिक्रिया ।