निषेधाज्ञा क्षेत्र विस्तार
बुटवल, १६ भदौ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सदरमुकाम भैरहवामा लगाउँदै आएको निषेधाज्ञाको क्षेत्रलाई बढाएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ विष्णु ढकालले शान्ति अमनचयन कायम गर्न यसअघि सदरमुकाम क्षेत्रमा मात्र कायम गरिएको निषेधाज्ञाको क्षेत्र विस्तार गरिएको जानकारी दिनुभयो ।
निषेधाज्ञा पूर्वमा वसन्तपुर गाविसस्थित डन्डा पुलबाट बढाएर वसन्तपुर बाइपास रोडसम्म कायम गएिको छ । त्यस्तै पश्चिममा गौतम बुद्ध विमानस्थलसम्म लगाइँदै आएकामा आजदेखि घाघराखोला पुलसम्म र उत्तरमा पडसरीस्थित रिलायन्स पेट्रोल पम्पसम्मको सीमा कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै दक्षिणमा नेपाल–भारत सीमा नाका बेलहियासम्म लगाइएको जिल्ला प्रशासन कार्यालयले जानाएको छ । निषेधाज्ञा जारी भएको स्थानभित्र सभासम्मेलन र जुलुस गर्न तथा एकै ठाउँमा पाँचभन्दा बढी जम्मा हुन प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञा यही भदौ १८ गतेसम्म कायम गरिएको छ ।